काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय क्षेत्रको निरीक्षण, सुपरिवेक्षण र नियामकीय कारबाहीलाई तीव्र बनाइएको बताएका छन्।
उनले सोमबार राष्ट्र बैंकको ७१औं वार्षिकोत्सव कार्यक्रममा नियमन र सुपरिवेक्षणमार्फत वित्तीय स्थायित्व कायम गरी उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारलाई सहयोग गर्ने बताए।
उनका अनुसार चालु आर्थिक वर्ष फागुनसम्म ९ वटा वाणिज्य बैंकको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न गरिएको छ।
यस्तै, राष्ट्रियस्तरका ५ विकास बैंकमा जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण गरिएको छ। थप ४ विकास बैंक र ७ वित्त कम्पनीमा अनुपालनमा आधारित निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ। साथै ६ विकास बैंक र ७ वित्त कम्पनीमा स्थलगत निरीक्षण गरिएको छ।
गभर्नर पौडेलले वाणिज्य बैंकहरूको सेवा प्रवाह, ग्राहक गुनासा तथा अन्य विषयमा विभिन्न निकाय र सेवाग्राहीबाट प्राप्त १५५ उजुरीका आधारमा चार पटक स्थलगत विशेष निरीक्षण गरी १३४ उजुरीमा आवश्यक निर्देशन दिएको जानकारी दिए।
उनका अनुसार ५ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन्। कानुन र निर्देशन उल्लंघन गर्ने २ विकास बैंक र २ वित्त कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने, नसिहत दिने र आर्थिक जरिवानाको ९ वटा कारबाही गरिएको छ।
विदेशी मुद्रा तथा विप्रेषण कारोबारतर्फ पनि राष्ट्र बैंकले निगरानी बढाएको छ।











