एलपी ग्यास पूरै सिलिण्डर बिक्री गर्न दिने निगमको तयारी, १५ हजार मेट्रिक टन बुलेटमै



शुक्र गिरी
२०८३ बैशाख ११ गते १४:१६ | Apr 24, 2026
एलपी ग्यास पूरै सिलिण्डर बिक्री गर्न दिने निगमको तयारी, १५ हजार मेट्रिक टन बुलेटमै

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास पूरै सिलिण्डर बिक्री गर्न दिने भएको छ।

Tata
GBIME
Nepal Life

आधा सिलिन्डर मात्रै बिक्री गर्दा ग्यास बुलेट होल्ड भएपछि निगमले अब पूरै सिलिन्डर ग्यास बिक्री गर्न दिने भएको हो।

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले आधा सिलिन्डर मात्र बजारमा पठाइएका कारण उद्योगीले आयात गरेर ल्याएका बुलेट होल्ड भएकाले छोटो समयका लागि पूरै सिलिन्डर बिक्री गर्न दिन लागेको बताए।

‘बजारमा अहिले ग्यास अभाव छैन। उता व्यवसायीहरुले ल्याएको ग्यास बिक्री नभएर बुलेटमै होल्ड भएको छ। त्यसलाई बजारमा पठाउनका लागि सीमित समयका लागि फुल सिलिन्डरमा ग्यास बिक्री गर्न दिने तयारीमा छौं,’ भट्टले भने, ‘यो १५-२० दिनका लागि मात्रै हुनेछ।’  

भट्टका अनुसार आगामी हप्तादेखि ग्यास पूरै सिलिण्डर विक्री गर्न दिने तयारी छ। ‘उद्योगीले अहिले आयात गरेको ग्यास पूरै सिलिण्डर बिक्री गर्दा पनि दुई साता भन्दा बढीलाई पुग्ने देखिएको छ,’ उनले भने, ‘ग्यास बुलेटमै होल्ड हुने अवस्थाले झन समस्या हुने जस्तो देखियो। त्यसैले पूरै सिलिन्डर बिक्री गर्न दिने तयारीमा लागेका हौं।’

पश्चिम एसियाको तनावले अन्तर्राष्ट्रिय बजारमै आपूर्ति प्रभावित भएपछि निगमले गत फागुन अन्तिम साता एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको थियो।

बजारमा उपभोक्ताले ग्यास नपाउने अवस्था देखिएपछि निगमले अभाव टार्न आधा सिलिण्डर बिक्री गर्ने निर्णय गरेकामा पछिल्लो समय अवस्था फेरिएको छ। ग्राहकबाट अहिले ग्यास नपाएको गुनासो आएको छैन।

व्यवसायीहरुले आयात गरेको ग्यास बुलेटमै होल्ड भएको र आफ्नो खर्च पनि दोब्बर भएको भन्दै पूरै सिलिन्डर बिक्री गर्ने निर्णय गर्न निगमलाई पत्राचार गरिसकेका छन्।

एलपी ग्यासको खपत घटेको देखिएको छ। ग्यास आयात महिना दिनमै २४.२० प्रतिशतले घटेको छ। फागुनमा ५ करोड ११ लाख ९२ हजार २९४ केजी आयात भएकामा चैतमा ३ करोड ८७ लाख ९९ हजार ४४५ केजी ग्यास भित्रिएको छ।

उग्रचन्डी ग्यास उद्योगका संचालक कृष्णभक्त श्रेष्ठले ग्यास बुलेटमा होल्ड हुँदा व्यवसायी र ग्राहक दुवै समस्या परेको बताए।

‘आधा सिलिण्डरका कारण होटलहरुले समस्या परेको बताइरहेका छन्। हाम्रो त दोब्बर खर्च भइरहेको छ। कतिपय उद्योगमा ३०० मेट्रिक टनसम्म ग्यसा होल्डमा छ। कति उद्योगको ग्यास बुलेट भन्सारमा रोकिएको अवस्था छ,’ उनले भने।

व्यवसायीहरुका अनुसार करिब १० हजार मेट्रिक टन ग्यास उद्योगमा होल्ड छ भने बाटोमा ५ हजार टन बराबरका २५० बुलेट अड्किएका छन्। यो ग्यास पूरै सिलिन्डर बिक्री गर्दा पनि १७ दिनलाई पुग्ने श्रेष्ठले बताए।