बजारमा अभाव भएपछि ग्यास अबदेखि आधा सिलिन्डर मात्रै, निगमको बोर्डले गर्‍यो निर्णय



शुक्र गिरी
२०८२ फागुन २८ गते १६:३३ | Mar 12, 2026
बजारमा अभाव भएपछि ग्यास अबदेखि आधा सिलिन्डर मात्रै,  निगमको बोर्डले गर्‍यो निर्णय

काठमाडौं। खाडी मुलुकको तनावले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास अबदेखि आधा सिलिन्डर मात्र बिक्री गरिने भएको छ। नेपाल आयल निगमले ग्यास आधा सिलिण्डर मात्र भर्न पाउने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

निगमले बिहीबार सञ्चालक समितिको बैठक राखेर आपूर्ति घटेको अवस्थामा पूरै सिलिण्डर ग्यास दिन नसकिने भन्दै अबदेखि आधा सिलिण्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो।

निगमका निर्देशक विनितमणि उपाध्यायले भारतबाट आउने परिमाण घटेका कारण बाध्य भएर आधा सिलिण्डर भर्ने निर्णय गरेको जानकारी दिए।

‘बजारमा यसअघि देखि नै ग्यास अभाव रहेकामा खाडी मुलुकको तनावपछि भारतबाट आउने परिमाण घट्यो। त्यही कारण हामीले बाध्य भएर आधा सिलिण्डर बेच्ने निर्णय गरेका हौं,’ उपाध्यायले बिजमाण्डूसँग भने, ‘सञ्चालक समितिको निर्णय हामी ग्यास उद्योगलाई आजै पठाउँदैछौं।’

निगमले सञ्चालक समितिको बैठक राखेर निर्णय गर्नुअघि बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हासँग छलफल गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले बजारमा अभाव देखिएको र भारतबाट पनि आयात घटेको अवस्थामा आवश्यक निर्णय गर्न निगमलाई निर्देशन दिएका थिए।

‘आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ रुपैयाँमा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार खरिद गर्न अनुरोध छ,’ निगमले सञ्चालक समितिको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय भारतमा ग्यास अभाव सिर्जना भएपछि त्यसको असर नेपालमा पनि परेको छ। ग्राहकहरु रित्ता सिलिण्डर बोकेर उद्योगमै पुग्न थालेका छन्। बिहीबार अपराह्न नेपाल ग्यासको बालाजु औद्योगिक क्षेत्रस्थित डिपोमा ग्राहकको लामो लाइन लागेको थियो।

निगमले इण्डियन आयल निगम (आईओसी)सँग किनेर नेपालमा ग्यास बिक्री गर्दै आएको छ।