टुँडिखेलमा मनाइयो अन्तर्राष्ट्रिय आरोग्य दिवस, सभामुख अर्याल लगायतले गरे योगा



बिजमाण्डू
२०८३ बैशाख २ गते ११:०४ | Apr 15, 2026
टुँडिखेलमा मनाइयो अन्तर्राष्ट्रिय आरोग्य दिवस, सभामुख अर्याल लगायतले गरे योगा

काठमाडौं। विभिन्न कार्यक्रमहरू गरेर बुधबार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ।

Tata
GBIME
Nepal Life

सोही क्रममा बुधबार टुँडिखेलमा पनि एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। उक्त कार्यक्रमको प्रमुख अथिति सभामुख डीपी अर्याल थिए।

कार्यक्रममा सहभागीहरूले केहीबेर योगा तथा ध्यान समेत गरेका थिए।

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो।

हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो। सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो।

रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवर्धनमा योगदान पुर्‍याउने उल्लेख गरेको छ।

राष्ट्रसङ्घका अनुसार यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ।

राष्ट्रसङ्घले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई विशेष महत्त्व दिँदै यसअघि घोषणा गरिएका अन्तर्राष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसले पनि समग्र आरोग्य प्रवर्धनमा पूरक भूमिका निर्वाह गर्ने जनाएको छ।

दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ। सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ।

मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवर्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन्।