काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र आसपासका उद्योग स्थानान्तरण गर्न आदेश दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिल पोखरेलको इजलासले भदौ ११ गते वातावरण प्रदूषणले लुम्बिनी क्षेत्र नै मासिने जोखिम भएको भन्दै आसपासका उद्योग दुई वर्षभित्र स्थानान्तरण गर्न परमादेश जारी गरेको थियो।
सार्वजनिक पूर्णपाठमा औद्योगिक विकासका नाममा पूर्वजहरुले छाडेर गएको र विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय सम्पदालाई जोखिममा पार्न नसकिने उल्लेख गरिएको छ।
सर्वोच्चको आदेश अनुसार लुम्बिनी क्षेत्र संरक्षणको निम्ति निर्मित पर्खालको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्वपश्चिम तथा उत्तरतर्फ पर्खालदेखि १५ किलोमिटर दूरीभित्रका उद्योग सार्नुपर्नेछ। लुम्बिनी भैरहवा कोरिडोर खण्डमा सडकको दायाँ बायाँ ८०० मिटरभित्र नयाँ उद्योग स्थापनामा पनि सर्वोच्चले रोक लगाएको छ।
सर्वोच्चको यो आदेश अनुसार अर्घाखाँची, जगदम्बा र वृज सिमेन्ट, अम्बे स्टील, हिमालयन स्न्याक्स लगायत धेरै उद्योग सार्नुपर्ने हुन्छ।
पढ्नुस पूर्णपाठ
सम्बन्धित समाचार : अर्घाखाँचीदेखि जगदम्बा सिमेन्टसम्मलाई असर पर्ने सर्वोच्चको आदेश, लुम्बिनी क्षेत्रका उद्योग सार्नुपर्ने










