काठमाडौं। सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा ४७.०७ प्रतिशतको गिरावट आएको छ। चालु आर्थिक वर्ष ८ महिनामा सेयर किनबेचबाट सरकारले ६ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।
सरकारले गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म सेयर किनबेचबाट १२ अर्ब १६ करोड ९६ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो।
सेयर किनबेचबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर फागुनमा ५८.५४ प्रतिशत घटेको छ। पोहोर फागुनमा १ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएकामा यो वर्ष सोही अवधिमा ५५ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।
सेयर बजारबाट साउनमा २ अर्ब १५ करोड ७५ लाख, भदौमा ६० करोड १४ लाख, असोजमा २४ करोड ३९ लाख, कात्तिकमा ३८ करोड, मंसिरमा ६२ करोड ९८ लाख, पुसमा ५८ करोड ४३ लाख र माघमा १ अर्ब २९ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको तथ्यांक छ।
दुई आर्थिक वर्ष ८ महिनामा सेयर कारोबारबाट सरकारलाई प्राप्त पुँजीगत लाभकर लाखमा
| महिना | २०८२/८३ | २०८१/८२ | फरक % |
| साउन | २१,५७५ | ४२३७८ | -४९.०९ |
| भदौ | ६०१४ | २५७९४ | -७६.६८ |
| असोज | २४३९ | ५८६५ | -५८.४१ |
| कात्तिक | ३,८०५ | ७५८७ | -४९.८५ |
| मंसिर | ६,२९८ | १०४०० | -३९.४४ |
| पुस | ५,८४३ | ५८०० | ०.७४ |
| माघ | १२९१९ | १०५७० | २२.२२ |
| फागुन | ५५१५ | १३३०२ | -५८.५४ |
| कुल | ६४४०८ | १२१६९६ | -४७.०७ |
यो वर्ष सेयर किनबेच साउन मध्यदेखि घटिरहेको छ। साउन दोस्रो साता ४ वर्षअघिको उचाइ लिएको बजार त्यसपछि घटेको हो। गत साउनमा ३००२ अंकमा पुगेकामा नेप्से अहिले २८१२ विन्दुमा छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बजार एक सातासम्म बन्द गरिएको थियो। जेनजी आन्दोलनपछि बजार सुस्ताएकामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि बढ्न थालेको छ।








