काठमाडौं। होन्डाको भारतमा उत्पादन भएको जेरो अल्फा एसयूभीको टेस्टिङ सुरु गरिएको छ।
टेस्टिङ भारतमा रहेका सबै टेरेन्टमा गरिनेछ। अर्बन ड्राइभिङ रेन्जदेखि हाइवे र रफ-रोड वातावरणमा पनि टेस्टिङ चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार टेस्टिङका क्रममा चार्जिङ पर्फर्मेन्स र उपयोगिताबारे मूल्यांकन गरिनेछ।
जापान मोबिलिटी शो २०२५ मा देखाइएको यो इलेक्ट्रिक गाडीको व्यावसायिक उत्पादन सन् २०२७ मा हुने अपेक्षा गरिएको छ। गाडी भारतको राजस्थानस्थित टपुकारा प्लान्टमा उत्पादन हुनेछ। यस परियोजनामा करिब १२०० करोड भारु लगानी हुने बताइएको छ।
होन्डा कार्स इन्डियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ताकाशी नकाजिमाले भारतभर सार्वजनिक सडकमा परीक्षण सुरु गर्नुलाई होन्डाका लागि विद्युतीकरण यात्राको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको बताएका छन्। उनले भारतमा विशेष प्रकारका ड्राइभिङ टेरेन्ट र वातावरण रहेकाले होन्डा इलेक्ट्रिक गाडी राम्रोसँग परीक्षण गर्न आवश्यक रहेको बताए।
टेस्टिङ सुरु गर्नुअघि ताकाशी नकाजीमा र राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माबीच बैठक भएको थियो। जेरो अल्फा एसयूभी आर्थिक वर्ष २०२६-२७ मा विश्वव्यापीरुपमा सार्वजनिक गर्ने योजना छ। भारत र जापान प्रारम्भिक बजारका रुपमा रहनेछन्।

मुख्यमन्त्री शर्माले यो परियोजनाले मेक इन इन्डिया फर द वर्ल्ड पहललाई सघाउने र क्षेत्रीय रुपमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताएका छन्।
यो परियोजना सन् २०२४ सेप्टेम्बरमा शर्माको जापान भ्रमणका क्रममा भएको छलफलपछि अगाडि बढेको हो। उनले ग्लोबल उत्पादक ठूला कम्पनीलाई राजस्थानमा इभी उत्पादनका लागि लगानी गर्न आह्वान गरेका थिए।











