काठमाडौं। चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बस नेपालमा बिक्रीका लागि शशिला मोटर्स र ओम्नी (काबरा) ग्रुपबीच सहकार्य भएको छ।
सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रुपमा बिक्री वितरण गर्नेछ।
नेपालका अटोमोबाइल क्षेत्रमा स्थापित दुई कम्पनीबीचको यो सहकार्यलाई विद्युतीय कमर्सियल सवारीसाधनको बजार विस्तारका लागि महत्वपूर्ण कदमका रुपमा हेरिएको छ।
कमर्सियल सवारीसाधनको बिक्रीमा विशेष पहिचान बनाएको शशिला मोटर्स विद्युतीय कमर्सियल सवारीसाधनको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा चिनिन्छ। त्यस्तै ओम्नी (काबरा) ग्रुप पनि व्यवसायिक सवारीसाधनको बिक्रीमा करिब ३५ वर्षदेखि सक्रिय रहँदै आएको कम्पनी हो। यो समूहले भारत बेन्च गाडी बिक्री गर्छ। यी दुई संस्थाबीचको सहकार्यले नेपाली अटोबजारमा विद्युतीय सवारीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।
शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले नेपालमा विद्युतीय कमर्सियल सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि यो साझेदारी महत्वपूर्ण हुने बताए। उनका अनुसार यस सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने, देशव्यापी पहुँच विस्तार हुने तथा ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।
ओम्नी समूहका निर्देशक उदयन काबराले शशिला मोटर्ससँगको सहकार्यबाट बजारको आवश्यकता अनुरूप प्रभावकारी, भरपर्दो र दिगो व्यवसायिक सेवा प्रदान गर्ने बताए। उनले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै बिक्रीसँगै सर्भिस तथा अन्य सेवासुविधालाई समेत चुस्त र विश्वसनीय बनाइने जानकारी दिए।











