काठमाडौं। अर्थतन्त्रका सबै बाह्य सूचक थप बलियो अवस्थामा देखिएका छन्। चालु आर्थिक वर्ष ७ महिनामा विदेशी मुद्राको सञ्चिति २३.३ प्रतिशतले बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
७ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले २१.३ महिनाको वस्तु र १८ महिनाको वस्तु तथा सेवाको आयात धान्छ।
यो वर्ष ७ महिनामा रेमिटेन्स ३९.८ प्रतिशत बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये १९८ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स माघमा भित्रिएको हो। अघिल्लो वर्षको सोही महिनामा १३७ अर्ब ५० करोड रेमिटेन्स आएको थियो।
चालु वर्ष माघसम्म चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा थियो।
शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो।











