काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र अवकाश भएका छन्।
पाँच वर्षे कार्यकाल पुरा गरी दुवै जना आइतबारबाट अवकाश भएका हुन्। कोभिडकालमा नियुक्त भएका दुवैको पालामा कि त एकदमै कडा नीतिहरु आए भने कि एकदमै नरम।
राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुबाट डेपुटी गभर्नर नियुक्त हुन्छन्। सरकारले रिक्त रहेको पदमा नियुक्तिका लागि परामर्श सुरु गरिसकेको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले १८ जनै कार्यकारी निर्देशकहरुसँग ‘सीभी’ मागिसकेका छन्। त्यसबाट ६ जनालाई सर्टलिस्टसमेत गरिसकेको स्रोतको दाबी छ। यसबाट अझै दुई जना छाँटिने छन्।
राष्ट्र बैंक ऐन अनुसार दुई जना डेपुटी गभर्नरका लागि चार जनाको नाम सिफारिस गर्नुपर्छ। त्यसबाट सरकारले दुई जनालाई नियुक्त गर्छ।
अवकाश भएका तिमिल्सिना र मिश्रको कार्यकाल औसत रहेको उनीहरुसँग काम गरेका बहालवाला र पूर्वकर्मचारीहरु बताउँछन्।











