काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा ४०० भन्दा बढी आउटलेटहरुमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ। मंगलबार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरु भएको हो।
सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए।
यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला र मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर व्यावसायिक नेटवर्किङ अनि स्वस्थ जीवनशैली निर्वाहमा सहयोग गर्ने गरी तयार पारिएको छ।
यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरू लक्षित सिग्नेचर प्लानहरूलाई अझ बढी विशेष बनाएको छ। प्रिमियम अनुभूति अनि जीवनशैलीसँग जोडिने सुविधाहरूसहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्व स्तरीय सञ्चार सुविधाका साथ सफलताहरु प्राप्त गर्न सहयोग गर्छ।’
दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरुलाई विशेष छुटहरु प्राप्त गर्न र उपभोग गर्न सहयोग गर्ने र त्यसले उनीहरुलाई कम खर्चमा बढी लाभ प्राप्त गर्न मद्दत मिल्ने कम्पनीले जनाएको छ।
यस साझेदारीअन्तर्गत प्रयोगकर्ताहरुले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ। त्यस्तै दुसित प्रिन्सेस होटलमा २० प्रतिशत अनि विभिन्न व्यायामशालाहरुमा ४० प्रतिशतसम्म सम्म छुट लगायतका धेरै रोमाञ्चक अफरहरु एनसेलका सिग्नेचर प्लान प्रयोगकर्ताहरुले प्राप्त गर्न सक्ने जनाइएको छ।
एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरुले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा ट्याप गरेर यी अफरहरूको फाइदा लिन सकिने जनाइएको छ। सरल प्रक्रिया पूरा गरेर एनसेल एप भित्रै रहेको डिजिटल भिआइपी कार्ड सक्रिय बनाएपछि ग्राहकहरूले त्यहाँ सूचिकृत विभिन्न पार्टनर ब्रान्डहरूबाट विविध लाभ लिन सक्नेछन्। कुन कुन ब्रान्ड यो योजनामा सामेल छन् र के कस्ता अफरहरू प्राप्त गर्न सकिन्छ भन्ने कुरा ग्राहकहरूले एनसेल एपमा रहेको दामी एक्सपिरियन्समा गएर आफैँ हेर्न सक्नेछन्।
‘प्रिमियम ब्रान्डहरूमा विशेष छुट प्राप्त गर्न सकिने यी विशेष अफरहरूलाई एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरू समक्ष पुर्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ। म विश्वस्त छु कि यी अनुभवहरूले हाम्रा ग्राहकहरूको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउन मद्दत गर्नेछ,’ दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले भने।
मोबिलिटी सेग्मेन्ट अन्तर्गत एनसेलको एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम एनसेल सिग्नेचर प्लानहरू उपलब्ध गराउँदै आएको छ। यो योजना निरन्तर सम्पर्कमा बसिरहनुपर्ने कर्पोरेट अधिकृत, नेतृत्वदायी भूमिका रहेका व्यवसायी प्रति लक्षित गरिएको छ जसले सधैँ उत्कृष्ट सेवाहरूको अपेक्षा गर्दछन्। यी योजनामा भ्वाइस, डेटा, एसएमएस र अन्तर्राष्ट्रिय रोमिङ (भोइस र डेटा) सेवाहरू उपलब्ध छन् जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
२५० जीबीसम्मको उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न प्रमुख देशहरुमा अन्तर्राष्ट्रिय रोमिङ सेवाका लाभहरूका साथ एनसेल सिग्नेचर प्लानले निर्वाध कनेक्टिभिटी सुनिश्चित गर्ने पनि जनाइएको छ।
व्यक्तिगत आवश्यकताका आधारमा ग्राहकहरूले प्रोफेसनल एनसेल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ रुपैयाँमा वा प्रिमियम एनसेल सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्छन्। छनोट गरिएको योजना अनुसार प्रयोगकर्ताहरूले भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब एमिरेट्स जस्ता प्रमुख गन्तव्यहरूमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त गर्ने जनाइएको छ।











