काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी साधारण सभाबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
महासंघका उपाध्यक्ष हेमराज ढकालले नेतृत्व गरेको प्यानलको उम्मेदवारी घोषणा सभामा अध्यक्ष ढकालले उद्योगी, व्यवसायीका आवाजलाई थप सशक्त बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
‘उद्योगी व्यवसायीका समस्या समाधान गर्न र आवाज सम्बन्धित ठाउँमा पुर्याउन सबैलाई मिलेर जान मेरो आग्रह छ,’ ढकालले भने।
उनले उम्मेदवारी घोषणा गरेका व्यवसायीहरु सबै अनुभवी र अब्बल रहेको बताए।
‘अर्को टिमबाट पनि प्यानल घोषणा हुने खबर पाएको छु। तर मेरो आग्रह छ सबै एक भएर अघि बढ्नुस्,’ अध्यक्ष ढकालले भने, ‘मिल्न नसक्ने भए स्वस्थ प्रतिस्पर्धा गर्नुहोला। दुवै पक्षलाई मेरो शुभकामना।’
महासंघको डेढ महिनापछि हुने ६०औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। त्यसका लागि उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनको प्यानलबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, उमेश डालमिया, कल्पना गैरे, नरेशलाल श्रेष्ठ र कमला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ।











