काठमाडौं। साताको दोस्रो दिन झिनो अंकले परिसूचक बढेको बजारमा कारोबार रकम भने खुम्चिन पुगेको छ। सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा रहँदा कारोबार रकममा भने उल्लेख्य गिरावट छ।
आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको बजार सोमबार ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको हो। कारोबार अवधिभर उच्च उतारचढाव देखिएको बजारमा ६ वटा उपसमूह बढ्दा बजारमा झिनो अंकको सुधार देखिएको छ।
देशभर चुनावी माहोल तातेको अवस्थामा बजारमा देखिएको झिनो सुधार र घट्दो कारोबार रकमले लगानीकर्ताको सतर्कता झल्काएको छ। राजनीतिक अनिश्चितता बढ्ने वा नीतिगत निरन्तरतामा असर पर्न सक्ने आशंकाले धेरै लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन्।
वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य उपसमूह बढेका छन्। विकास बैंकको सूचक सबैभन्दा धेरै ०.९० प्रतिशतले बढेको छ। ७ वटा उपसमूह भने घटेका छन्। म्युचल फण्ड सबैभन्दा धेरै ०.४१ प्रतिशतले घटेको छ।
१४० कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा परेका छन्। ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य स्थिर छ। सालपा विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.२८ प्रतिशत बढेको छ।
बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा आँखुखोला हाइड्रोपावरको पहिलो नम्बरमा छ। उक्त कम्पनीको ३६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै रिडी पावरको ३२ करोड १९ लाख र एसवाइ प्यानल कम्पनीको २८ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सोमबार परिसूचक सामान्य रूपमा बढे पनि कारोबार रकम खुम्चिनु सक्रिय सहभागिता कमजोर भएको संकेत हो। चुनावी परिणामपछि नीतिगत स्पष्टता, सरकारको स्थायित्व र आर्थिक एजेन्डाको दिशाबारे स्पष्ट सन्देश आएपछि मात्रै बजारमा ठोस ट्रेन्ड देखिने सम्भावना छ। त्यसअघि लगानीकर्ताले जोखिम सीमित राख्दै छानिएका क्षेत्रमै लगानी केन्द्रित गर्ने प्रवृत्ति जारी रहने देखिन्छ।










