काठमाडौं । नेपालमा बनेको सिप्रदी यात्री इलेक्ट्रिक स्कुटरले नेपालका टफ टेरेन्टहरुमा रोड टेस्टिङ गरेको छ। सिप्रदी ट्रेडिङको ब्याकबोन्डमा तयार भइरहेको सिप्रदी यात्री इलेक्ट्रिक स्कुटरले हालसम्म ७ हजार किलोमिटरको रोड टेस्टिङ सम्पन्न गरेको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो फेसबुक पेजमा सिप्रदी यात्रीको पी२ देशभरका टफ टेरेन्टमा रोड टेस्टिङ भइरहेको जानकारी दिएको हो।
कम्पनीको पोस्टमा अहिलेसम्म कम्पनीले गरेको रोड टेस्टमा वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौंडा, जिरी, फापरबारी, मुलकोट, कटारीसम्मका टेरेन्टमा स्कुटर चलाइएको उल्लेख छ।
तराईको समथर सडकदेखि मध्यपहाडी सडक, टफ र अफरोड सेगमेन्टमा पनि उक्त स्कुटर चलाएर परीक्षण गरिएको छ।
कम्पनीले नेपालको हरेक भूभाग र रोडका लागि उपयुक्त हुने स्कुटर तयार पारिरहेको छ। त्यसका लागि अहिले कम्पनीले नेपालभरीका टेरेन्टमा उक्त स्कुटर रोड टेस्टका लागि चलाइरहेको छ। कम्पनीले यो स्कुटर दैनिक ४०० किलोमिटरभन्दा धेरै चलाइरहेको छ।


धेरै पहिलेदेखि नेपालमा इलेक्ट्रिक बाइक उत्पादन गर्दै आएको यात्रीले मास मार्केटमा जानका लागि ठूलो घराना सिप्रदीको साथ लिएको हो।
कम्पनीले यही जनवरीदेखि स्कुटर बजारमा ल्याउने योजना बनाएको थियो। तर, डिजाइन र नेपालको भूगोलअनुसारको बनाउन समय लागेको हो।
कम्पनीले यसलाई नेपाली नयाँ वर्षमा ल्याउने योजना बनाइरहेको छ। यसका लागि कम्पनीले प्लान्टहरू पनि सेट गरिसकेको छ।











