महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घुइँचो



बिजमाण्डू
२०८२ फागुन ३ गते १०:२० | Feb 15, 2026
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घुइँचो


काठमाडौं। महाशिवरात्रि पर्वका अवसरमा आइतबार एकाबिहानदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड छ।

Tata
GBIME

महाशिवरात्रिका अवसरमा आइतबार बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको छ। विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।

पशुपतिमा मेला भर्न आउने भक्तजनहरूका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ।

३ वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने बताइएको छ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि ३ वटा लाइनको व्यवस्था गरिएको छ। मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तीसपुतली-गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-तिलगङ्गा, पिङ्गलास्थान-सुमार्गी भवन अगाडिबाट चार शिवालय-पञ्चदेवलदेखि दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सकिन्छ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिनेगरी व्यवस्थापन गरिएको छ। आवश्यकता अनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने बताइएको छ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चारवटा भित्री लाइन व्यवस्थापन गरिएको छ। दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।