आयोगको पत्राचारपछि केही घण्टामा समातिएका हुन् दुर्गा प्रसाईं, आचारसंहिता उल्लंघनको आरोप

बिजमाण्डू
२०८२ माघ २३ गते १४:१२ | Feb 6, 2026
आयोगको पत्राचारपछि केही घण्टामा समातिएका हुन् दुर्गा प्रसाईं, आचारसंहिता उल्लंघनको आरोप


काठमाडौं। निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेपछि शुक्रबार फेरि दुर्गा प्रसाईं समातिएका छन्। विवादित व्यवसायी प्रसाईंलाई जिल्ला प्रहरी परिसरबाट डीएसपीको कमान्डमा खटिएको टोलीले दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको हो।

GBIME
Tata

शुक्रबार प्रसाईंविरुद्ध प्रहरीलाई निर्वाचन आयोगले पत्राचार गरेपछि उनी समातिएका हुन्। निर्वाचन आचारसंहिताविरुद्ध शनिबार पर्सामा कार्यक्रम गर्न मानिस जम्मा गरेको सूचना पाएपछि आयोगले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो। त्यसपछि जिल्ला प्रहरी परिसरको टोलीले प्रसाईंलाई तत्काल खोजेर पक्राउ गरेको हो।

‘आज मात्र हामीले प्रहरीलाई पत्राचार गरेका थियौं। उनले निर्वाचन आचरसंहिता विपरीत मानिस भेला गरेको पाइयो,’ आयोग स्रोतले भन्यो।

उनी यसअघि पोखराबाट पक्राउ परेका थिए। आयोगले पैसाको डिल भएको अभिव्यक्ति दिएपछि उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो। काठमाडौं परिसरले उनलाई हाजिरी जमानीमा छोडेको थियो। केही दिनअघि उनले परिसरमा पुगेर बयान दिएका थिए।

प्रसाईंले पछिल्लो समय चितवन, पर्सा लगायतका जिल्लामा विरोध सभा गर्दै आएका छन्। निर्वाचन भाँड्न सक्ने भन्दै सुरक्षा निकायले प्रसाईंमाथि निगरानी बढाएको छ।

केही दिनअघि पनि चितवनमा नतोकिएको ठाउँमा कार्यक्रम गर्न लागेपछि उनका तीन जना कार्यकर्तालाई पक्राउ गरिएको थियो।