काठमाडौं। सेयर बजारमा साना तथा मझौला संगठित संस्था(एसएमई) लगानीको नयाँ उपकरण बन्न सक्ने देखिएको छ।
सेयर बजारमा ठूला कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न नसकेको अवस्थामा एसएमई लगानीको नयाँ उपकरण बन्न सक्ने देखिएको हो। लगानीकर्ताहरु एसएमईको सेयरमा लगानीका लागि पर्खेर बसेका छन्।
सरकारले गत वर्ष साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली बनाएर पुँजी परिचालनको बाटो खुलाएकामा अहिले नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म सञ्चालन गर्न लागेको छ।
नेप्सेले अलग्गै प्लेटफर्म सञ्चालनमा ल्याएपछि साना तथा मझौला कम्पनी बजार ड्राइभको उपकरण बन्ने लगानीकर्ताको विश्लेषण छ।
‘एसएमई पुँजी संकलनको एउटा माध्यम हो। अर्कातिर लगानीकर्ताका लागि लगानीको उपकरण थपिन्छ। तर, अहिले साना कम्पनीको सेयर मूल्यमा भइरहेको वृद्धिको अवस्था हेर्दा एसएमईमा कन्ट्रोल गर्ने मेकानिजम पनि चाहिने देखिन्छ,’ लगानीकर्ता सन्तोषराज नेपालले भने।
बजारमा अहिले साना कम्पनीको सेयर मूल्य अस्वाभाविकरुपमा उचाल्ने गरिएको छ। लोक्याप कम्पनीको मूल्यमा देखिएको अस्वाभाविक वृद्धिले एसएमईमा पनि त्यस्तै अवस्था आउन सक्ने आकलन लगानीकर्ताको छ।
‘बजारबाट पुँजी जुटाएर उद्यम गर्न चाहनेहरुलाई एसएमई प्लेटफर्म आवश्यक छ, यो अब चलाउनुपर्छ,’ लगानीकर्ता अम्बिका पौडेलले भने, ‘यससँगै साना कम्पनीको सेयरमा अहिले जुन तरिकाले माग सिर्जना हुने गरेको छ। त्यही कुरा एसएमईमा पनि देखिन सक्छ। त्यसलाई नियामकहरुले हेर्नुपर्छ।’
नेपाल स्टक एक्सचेन्जले साना तथा मझौला संगठित संस्था (एसएमई)को धितोपत्र कारोबारका लागि प्लेटफर्म सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ।
नेप्सेले एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउन साना तथा मझौला संगठित संस्थाको सेयर कारोबार विनियमावलीको मस्यौदा तयार पारेर स्वीकृतिको प्रक्रिया अगाडि बढाएको हो।
नेप्से स्रोतका अनुसार साना तथा मझौला संगठित संस्थाको सेयर कारोबार विनियमावलीको मस्यौदा सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्ड(सेबोन)मा पठाउने अन्तिम चरणमा छ।
साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीका आधारमा प्लेटफर्म सञ्चालनका लागि विनियमावलीको मस्यौदा स्वीकृतिका लागि सेबोन पठाउन लागिएको हो।
सेबोनले स्वीकृत गरेपछि एसएमई प्लेटफर्म सञ्चालनको बाटो खुल्नेछ। त्यसपछि कार्यविधि बनाएर कार्यान्वयनमा आउनेछ।
‘एसएमईका लागि सेयर बजारमा छुट्टै प्लेटफर्म सञ्चालनका लागि नियमावली अनुसार हामीले विनियमावलीको मस्यौदा तयार पारिसकेका छौं। सञ्चालक समितिबाट पास हुने अन्तिम चरणमा छ,’ नेप्से स्रोतले भन्यो, ‘व्यवस्थापनले पेस गरेका केही प्रावधानमा संशोधन गरिएको छ। सञ्चालक समितिबाट पास भएपछि स्वीकृतिका लागि सेबोनमा पठाउने छौं।’
बजारमा अहिले चुक्ता पुँजी थोरै भएका कम्पनीको सेयर मूल्य आधारभूत सूचकसँग तालमेलै नहुने गरी बढिरहेको छ। नेपाल फाइनान्स, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक यसका उदाहरण हुन।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट नीतिगत तहबाट बजारमा अहिलेसम्म सप्लाई मात्रै बढाउने काम भएकाले अबको नीति माग सिर्जना गर्नेतिर केन्द्रित हुनुपर्ने बताउँछन्।
‘लगानीका लागि बजारलाई एसएमई विकल्प भयो। तर, अहिलेसम्म हामी जे गरिरहेका छौं सप्लाई बढाउने काम मात्रै भइरहेको छ। डिमान्ड क्रियट नै गर्न सकिएन,’ उनले भने, ‘त्यसले लोक्याप कम्पनी चल्ने र ठूला कम्पनीको कारोबार नहुने स्थिति देखियो। त्यसैले बजारमा डिमान्ड क्रियट गर्ने नीति नियामकबाट आउनुपर्ने देखिन्छ।’
अहिले ठूला साना कम्पनीको सेयर एउटै प्लेटफर्म नेप्से इन्डेक्समार्फत कारोबार हुने गरेको छ।
एसएमईको धितोपत्र निष्कासन तथा कारोबार नियमावली आएपछि कार्यान्वयन गर्न सेबोनले पोहोर नै नेप्से र सीडीएससीलाई पत्राचार गरेको थियो। तर, नियमावलीले बाटो खुला गरे पनि विनियमावली तयार नहुँदा प्लेटफर्म सञ्चालनमा आएको छैन।
नेप्से व्यवस्थापनले प्रस्ताव गरेको विनियमावलीको मस्यौदा सञ्चालक समितिमै होल्ड भएकामा अहिले स्वीकृतिको चरणमा पुगेको हो। एसएमई प्लेटफर्ममा आउने कम्पनीका लागि अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँ तोकिएको छ। बजार र कम्पनीको अवस्था हेरेर कम्पनीको चुक्ता पुँजीको सीमा हेरफेर गर्न सकिन्छ।
यसका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीमा छ। कम्पनीले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन बिक्री गर्नुपर्ने सीमा तोकिएको छ।
अहिले कार्यान्वयनमा रहेको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भने बजारमा आउने कम्पनीले १० देखि ४९ प्रतिशत सेयर निष्कासन गर्नुपर्छ।
एसएमई कम्पनीलाई आइपीओ निष्कासनमा सहुलियत दिइएको छ। कम्पनीहरुले रेटिङ नगरी आइपीओ निष्कासन गर्न सक्ने व्यवस्था छ।
एसएमई कम्पनीको आइपीओमा न्यूनतम् ५०० कित्ताका लागि आवेदन दिनुपर्छ। अहिले अरु कम्पनीको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुने व्यवस्था छ।










