काठमाडौं। मंसिरमा आइपीओ बिक्री गरेर सेयर बजारमा सूचीकृत भएको एसवाई प्यानलको भाउ मंगलबार २२५५ रुपैयाँसम्म पुग्यो।
प्रति कित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गरेको कम्पनीको पहिलो कारोबार मंसिर २४ गते ३१९ रुपैयाँमा भएको थियो। दोस्रो बजारमा सूचीकृतपछि निरन्तर पोजेटिभ सर्किट लागिरहेको कम्पनीको सेयर मूल्य ३० कारोबार दिनमध्ये २५ दिन बढ्यो।
दोस्रो बजारमा पहिलो कारोबारका लागि एसवाई प्यानललाई नेप्सेले दिएको सेयर मूल्यलाई आधार मान्ने हो भने डेढ महिनामा मूल्य ७ गुणा पुगेको छ।
मूल्य बढेको २५ दिनमध्ये १६ दिन पोजेटिभ सर्किट लाग्यो। कम्पनीमा १०० रुपैयाँ लगानी गर्नेले एक महिनामै २१५५ रुपैयाँ कमाएका छन्। कम्पनीको सेयर मूल्य मंगलबार अहिलेसम्मकै उचाइमा पुगेकामा अन्तिममा २०१५ रुपैयाँ कायम भयो।
एसवाई प्यानलको सेयर मूल्य बजारमा माग सिर्जना गरेर बढाउने काम भइरहेकोएक ब्रोकरले बताए।
बजारमा १४ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार हुँदा एसवाई प्यानल ५७ करोड ६८ लाख रुपैयाँसहित धेरै कारोबार हुने कम्पनीको सूचीमा दोस्रो स्थानमा रह्यो।
१ अर्ब ३० करोड रुपैयाँ जारी पुँजीको कम्पनीले ४० प्रतिशतले हुन आउने ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर बिक्री गरेको थियो। कम्पनीले स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरेको सेयर लकइनमा छ।
एसवाई प्यानल मात्रै नभएर आइपीओ बिक्रीपछि दोस्रो बजारमा कारोबारमा आएका कम्पनीको सेयर मूल्य माग सिर्जना गरेर बढाउने गरिएको छ।
‘भर्खरै आइपीओ निष्कासन गरेका एसवाइ प्यानल लगायत कम्पनीको बजारमा यस्तो कारोबार भइरहेको छ कि ठूला कम्पनी माथि आउनै छोडेका छन्। सुरुमा अपरेटरले नै चलाए। अहिले एउटाले फाल्ने अर्कोले किन्ने काम ब्रोकरले नै गरिरहेका छन्। त्यसमा रिटेलरसम्म लाग्न थालेका छन्,’ एक मर्चेन्ट बैंकरले भने, ‘आइपीओ गेम नै चलेको छ। कम्पनीबारे न्यारेटिभ बनाएर मूल्य बढाउने काम भइरहेको छ। बजारमा १५/१६ अर्बको सेयर किनबेच हुँदा राम्रा कम्पनी कुनै पनि माथि छैनन्।’
कात्तिकदेखि दोस्रो बजारमा कारोबारमा आएको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीको सेयरमा एसवाई प्यानलकै ट्रेन्ड छ।
कात्तिक २५ गते २८५ रुपैयाँमा दोस्रो बजारमा सेयर कारोबार सुरु भएको बन्दीपुर केबलकारको सेयर कारोबार माघ १३ गते प्रति कित्ता १११५ रुपैयाँ पुगेको छ।

बन्दीपुरको ५१ दिनको सेयर कारोबारमा १३ दिन पोजेटिभ सर्किट लाग्यो। कम्पनीको सेयर मूल्य मंगलबार अहिलेसम्मकै उच्च भएको छ। बन्दीपुर केबलकारले २ अर्ब ८२ करोड रुपैयाँको २०.७० प्रतिशत आइपीओ बिक्री गरेकामा ५८ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत छ।
कम्पनीको सूचीकृत सबै सेयर कारोबारमा आउँदैन। स्थानीय, कर्मचारी र सामूहिक लगानी कोषलाई वितरण गरेको सेयर लकइन अवधि नसकिएसम्म दोस्रो बजारमा कारोबारमा आउँदैन।
बजारमा कम्पनीको साधारण सेयर न्यून छ। त्यही भएर मूल्य अस्वाभाविक बढाउने काम भएको कारोबारीले बताएका छन्।
‘आइपीओपछि कम्पनीको सेयर मूल्य एक्स्ट्रिम ओभर भ्यालुड भयो। ७००/८०० तिर किनेकाहरूले अहिले थप डिमान्ड सिर्जना गरिरहेका छन्,’ अर्का एक मर्चेन्ट बैंकरले भने।
बजारमा १४ अर्बको सेयर किनबेच हुँदा मंगलबार बन्दीपुर केबलकार ३७ करोड ३१ लाख रुपैयाँसहित धेरै कारोबार हुने ५ कम्पनीको सूचीमा छ।
आइपीओ निष्कासन गरेर कात्तिकमै नेप्सेमा सूचीकृत भएको सागर डिष्टिलरीको सेयर मूल्य दोस्रो बजारमा रकेट गतिमा उकालो लागिरहेको छ।
३१९ रुपैयाँमा दोस्रो बजारमा सेयर कारोबार सुरु भएको सागर डिष्टिलरीको सेयर भाउ आइतबार प्रति कित्ता २४३९ रुपैयाँसम्म पुग्यो। ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजीको कम्पनीले २० प्रतिशतले हुन आउने १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको थियो।
सागर डिष्टिलरीका संस्थापक सेयर होल्डर नै ब्रोकर कम्पनीका संचालक छन्। सागर डिष्टिलरीले निष्कासन गरेको २० प्रतिशत सेयरमा सामूहिक लगानी कोषलाई वितरण गरेको सेयर अहिले कारोबारमा छैन।
१४ लाख ५२ हजार कित्तामध्ये पनि केही लकइनमा रहँदा आफूसँग सेयर भएका खेलाडीले होल्ड गरेर चलाउने काम गरेको लगानीकर्ताको दाबी छ।
‘चुक्ता पुँजी थोरै भएका त्यसमा पनि आइपीओ निष्कासनको आकार एकदमै सानो भएका कम्पनीलाई सेबोनले स्वीकृति दिंदाको परिणाम बजारमा देखिएको हो। सेबोनले राम्रोसँग कम्पनीको नियमन नै गर्न सकेन। थोरै कित्ता सेयर आइपीओ ल्याएर मूल्य मात्रै बबल बनाउने काम भयो,’ एक लगानीकर्ताले भने, ‘उल्टै बिजनेस भएका कम्पनीको कारोबार नै कमजोर देखिएको छ।’
मंसिर पहिलो साता नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको श्रीनगर एग्रिटेकको सेयर मूल्य एक महिनामै प्रति कित्ता १६९० रुपैयाँसम्म पुगेको थियो।










