काठमाडौं। तरलता थुप्रिएर लागत बढेपछि बैंकहरुले सस्तो ब्याजदरमा अटो कर्जाका नयाँ स्किम ल्याउन थालेका छन्।
न्यून जोखिम र डिफल्ट दर कम हुने भएपछि बैंकहरुले अटो कर्जामा न्यून ब्याजदरमा नयाँ स्किम ल्याउन थालेका हुन्। अन्य कर्जाको तुलनामा अटो कर्जामा जोखिम कम हुन्छ। जोखिम कम हुने भएकैले थोरै मार्जिनमा अटो कर्जामा ध्यान केन्द्रित गरेको बैंकरहरु बताउँछन्।
नेपाल बैंकले ५.५६ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। पछिल्लो तीन महिनाको औसत आधार दर (बेसरेट) ५.१३ प्रतिशत छ। बैंकले ५.५६ आधार दरमा ०.४३ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा दिइरहेको छ।
यो परिवर्तनशील (फ्लोटिङ)ब्याजदर हो। परिवर्तनशील ब्याजदर आधार दर घट्बढ हुँदा तलमाथि हुन्छ। आधार दर घट्दा यस्तो ब्याजदर तल आउँछ भने बढ्दा माथि जान्छ।
नबिल बैंकले ६.०४ प्रतिशत ब्याजदरमा अटो कर्जा दिन थालेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत बेसरेट ५.०४ प्रतिशत छ। बैंकले बेसरेटमा १ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा दिन थालेको हो।
ग्लोबल आइएमई बैंकले ६.२४ प्रतिशतमा अटो कर्जा दिइरहेको छ। माछापुच्छ्रे बैंकले बेसरेटमा साढे १ प्रतिशत प्रिमियम जोडेर कर्जा दिन्छ। बैंकको बेसरेट ५.४८ प्रतिशत छ।
बैंकहरुले सस्तो दरमा ल्याएका स्किमले कर्जा बढाउन सहयोग पुगेको छ। पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुले अटो कर्जा ७ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। गत कात्तिकसम्म वाणिज्य बैंकहरुले यस क्षेत्रमा १ खर्ब १४ अर्ब कर्जा लगानी गरेकामा मंसिरमा आइपुग्दा १ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय न्यून ब्याजदरको स्किमले कर्जा प्रवाह बढ्न थालेको बताउँछन्। ‘तरलता थुप्रिएसँगै हामीले बेसरेटको हाराहारीमा अटो कर्जाको स्किम ल्याएका छौं,’ उनले भने, ‘हामीले न्यून ब्याजदरमा अटो कर्जा दिन थालेपछि ग्राहक बढिरहेका छन्।’
बैंकले अटो कर्जा मात्रै नभएर होम लोन, बिजनेस लोन, कृषि तथा एसएमई कर्जा पनि बेसरेट हाराहारीमा दिइरहेको छ।
‘अहिले बैंकहरुको औसत सीडी रेसियो ७३ प्रतिशत छ। कुनै बैंकको त्यो भन्दा पनि कम छ,’ पाण्डेयले भने, ‘बैंकहरुसँग अधिक तरलता भएकाले थोरै प्रिमियममा कर्जा दिनुको विकल्पै छैन। थालेका हौं।’
एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेको छ। बैंकले ५ देखि ७ प्रतिशत परिवर्तित ब्याजदरमा अटो कर्जा दिइरहेको छ। परिवर्तित ब्याजदरको हकमा बैंकले बेसरेटमा न्यूनतम १ देखि अधिकम ३ प्रतिशत प्रिमियम जोडेर कर्जा दिइरहेको छ। पछिल्लो तीन महिनाको बैंकको औसत आधार दर ४.७५ प्रतिशत छ।
प्रभु बैंकले ५.५९ प्रतिशत स्थिर ब्याजदरमा ५ वर्ष र ७ वर्ष अवधिको अटो कर्जा ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिइरहेको छ।
त्यसैगरी, एनएमबि बैंकले बेसरेटमा १ प्रतिशत प्रिमियममा अटो कर्जा दिइरहेको छ। बैंकको पछिल्लो तीन महिनाको औसत आधार दर ५.४८ प्रतिशत छ। जसअनुसार बैंकले ६.४८ प्रतिशत ब्याजदरमा अटो कर्जा दिइरहेको छ।
सिद्धार्थ बैंकले बेसरेटमा ३ प्रतिशत, कुमारी बैंकले बेसरेटमा २ प्रतिशतदेखि ३ प्रतिशत, नेपाल एसबिआइ बैंकले ०.२५ प्रतिशत देखि ३ प्रतिशत र कृषि विकास बैंकले बेसरेटमा अधिकतम साढे २ प्रतिशतसम्म प्रिमियम जोडेर अटो कर्जा दिइरहेका छन्।
सिटिजन्स बैंकले प्राइभेटको हकमा साढे २ प्रतिशत र कमर्सियलको हकमा ३ प्रतिशतमा कर्जा दिइरहेको छ।
सानिमा बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा दिन्छ। परिवर्तित ब्याजदरको हकमा भने बैंकले ०.७५ प्रतिशत देखि अधिकतम २.७५ प्रतिशत प्रिमियम थपेर अटो कर्जा दिने गरेको छ।
नेपाल बैंकले ५.५६ प्रतिशत ब्याजदर तथा एनआइसी एसिया बैंकले ०.२५ देखि ३ प्रतिशत प्रिमियम थपेर अटो कर्जा दिइरहेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ०.७५ देखि २.७५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले बेसरेटमा १.३५ देखि १.७४ प्रतिशत प्रिमियम जोडेर अटो कर्जा दिइरहेका छन्।
अटो कर्जामा जोखिम कम हुने भएकाले थोरै मार्जिनमा भए पनि व्यवसाय बढाउन स्किम ल्याएको अर्का एक सीइओले बताए।
‘अटो कर्जा, होम लोन क्यास फ्लोका आधारमा दिने हो। क्यास फ्लो राम्रो छ भने कमाउँदै तिर्छ भन्ने हुन्छ,’ ती सीइओले भने, ‘आम्दानी हुनेले कमाउँदै कर्जा तिर्दै जाँदा जोखिम कम हुन्छ। जोखिम कम हुँदा थोरै मार्जिनमा पनि दिन मिल्यो।’










