चोरी निकासीबारे निजी क्षेत्रले गरायो सरकारको ध्यानाकर्षण, नगद सीमाबारे पनि असन्तुष्टि



बिजमाण्डू
२०८२ माघ १२ गते १४:१७ | Jan 26, 2026
चोरी निकासीबारे निजी क्षेत्रले गरायो सरकारको ध्यानाकर्षण, नगद सीमाबारे पनि असन्तुष्टि
चन्द्र ढकाल


काठमाडौं। उद्योगी व्यवसायीले भन्सारबाट हुने चोरीपैठारी तथा निकासी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षले भन्सार चोरी पैठारी व्यावसायिक वातावरणका लागि ठूलो समस्या रहेको बताएका हुन्।   

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भन्सारबाट हुने चोरी निकासी तथा पैठारी निकै पुरानो समस्या भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए।

‘अहिले कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकनमा जानु सकारात्मक छ,’ उनले भने, ‘तर भन्सार छलेर विभिन्न नाका हुँदै भित्र्याइने सामान नेपालको व्यावसायिक वातावरणका लागि ठूलो समस्या हो। यसतर्फ सरकार कडा भएर लाग्नुपर्‍यो।’

ढकालले नगद कारोबारमा माघदेखि लगाइएको ५ लाखको सीमाप्रति पनि असन्तुष्टि जनाए। ‘धेरै मुलुकमा १० हजार डलरसम्म नगद कारोबार गर्न मिल्छ। तर हाम्रोमा साढे ३ हजार डलर बराबर मात्रै राख्नु अलि व्यावहारिक देखिंदैन। यसको पुनरावलोकनबारे पनि सरकारले सोच्नुपर्छ,’ उनले भने।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उच्च भन्सार दरका कारण खुला सीमाबाट चोरी निकासी तथा पैठारी भइरहेको बताए।

अग्रवालले भने, ‘भन्सार दर असाध्यै महँगो भयो। यसले गर्दा खुला सीमाको फाइदा उठाएर चोरी निकासी भइरहेको छ। सरकारले भन्सार दर अधिकतम २५ प्रतिशतमा सीमित पार्न सके नियन्त्रण हुन्छ।’

भारतले जीएसटी दर घटाएकाले नेपाली बजारलाई प्रतिस्पर्धी बनाउन मूल्य अभिवृद्धि लगायत करका दर समायोजन गर्न आवश्यक रहेको अग्रवालले बताए।

उनले भन्सारमा असाध्यै कडा दण्ड जरिबाना सम्बन्धी व्यवस्था पनि पुनरावलोकन गर्न माग गरे। उनले भने, ‘अत्यधिक कठोर र अव्यावहारिक नीतिका कारण व्यापारमैत्री वातावरणको अनुभूति हुन सकेको छैन। सानो गल्तीमा पनि व्यवसायीले अनवाश्यक दु:ख पाइरहेका छन्।’