अमेरिकामा टिकटकको एल्गोरिदम परिवर्तन : कन्टेन्ट क्रिएटर र व्यवसायीलाई नयाँ चुनौती



बिजमाण्डू
२०८२ माघ १० गते ०९:२१ | Jan 24, 2026
अमेरिकामा टिकटकको एल्गोरिदम परिवर्तन : कन्टेन्ट क्रिएटर र व्यवसायीलाई नयाँ चुनौती

अमेरिकामा टिकटक प्रयोगकर्ताका लागि ठूलो परिवर्तन आउँदैछ। टिकटकले पुरानो एप हटाएर नयाँ ल्याउने नभइ अमेरिकी डेटा सुरक्षा र नियामक माग पूरा गर्न अमेरिकी कम्पनीसँग साझेदारी गर्दैछ। यसको अर्थ, अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत डेटा अमेरिका भित्र सुरक्षित हुनेछ र विदेशी पहुँच कम हुनेछ।

Tata
GBIME
Nepal Life

एपको सामान्य प्रयोग उस्तै रहनेछ-भिडियो हेर्ने, बनाउने, कमेन्ट गर्ने सुविधा जस्ताको तस्तै हुनेछ। तर, एल्गोरिदम र फिड सुझावमा परिवर्तन हुन सक्छ, जसले प्रयोगकर्ताले पाउने सामग्री फरक बनाउन सक्छ। यसरी, प्रयोगकर्ताको अनुभव उस्तै रहँदै सुरक्षा र गोपनीयता बलियो हुनेछ।

अमेरिकी टिकटक प्रयोगकर्ताले एउटै एप प्रयोग गर्न सक्छन्, तर एपको अनुभव कस्तो रहनेछ भन्ने अझै स्पष्ट छैन। सञ्चालक सम्पनी सौदाबाजीपछि बाइटडान्सबाट अमेरिकी ब्याकएन्डको एल्गोरिदम लाइसेन्स गरिँदैछ। यसले प्रयोगकर्ताको फिडमा कम्तीमा पनि सूक्ष्म परिवर्तन ल्याउनेछ।

विज्ञहरुले सामाजिक सञ्जालमा सेवा परिवर्तनले प्रयोगकर्तालाई असन्तुष्ट बनाउने जोखिम रहने चेतावनी दिएका छन्। टिकटकले भनेअनुसार अमेरिकी क्रिएटरहरू विश्वका अन्य क्षेत्रहरूमा अझै पनि देखिनेछन् र व्यवसायहरूले आफ्नो ग्लोबल पहुँच कायम राख्न सक्नेछन्। तर अमेरिकी र बाइटडान्स बीचको अन्तरक्रियाले विश्वव्यापी टिकटक अनुभव कसरी कायम राख्नेछ भन्ने कुरा अहिले अस्पष्ट छ।

पुनः प्रशिक्षण गरिएको एल्गोरिदमले ट्रेन्डहरू र फिडमा देखिने सामग्रीलाई स्पष्ट रूपमा अमेरिकी अनुभव जस्तो बनाउनेछ। ग्लोबल सामग्री देखिनेछ, तर यसको र्‍यांकिङ बदलिनेछ। एल्गोरिदम नै एपको आकर्षक अनुभवको मुटु हो, त्यसैले अमेरिकी केन्द्रित फिडले प्रयोगकर्ता संलग्नता बढाउने कि टिकटकको सांस्कृतिक प्रतिष्ठामा असर पार्ने भन्ने प्रश्न उठेको छ।

टिकटकले आफ्नो ‘टर्म्स अफ सर्भिस’ पनि अपडेट गरेको छ, जसमा प्रयोगकर्ताले आफ्ना सामग्रीको स्वामित्व कायम राख्ने, तर टिकटकले त्यसलाई प्लेटफर्म सञ्चालन वा सुधार गर्न प्रयोग गर्न सक्ने उल्लेख छ। १३ वर्ष मुनिका प्रयोगकर्ताहरू ‘अन्डर १३ एक्सपेरियन्स’ सीमितमा राखिनेछन्। साथै प्रयोगकर्ताले कुनै पनि एआइ निर्मित सामग्रीको जिम्मेवारी लिनुपर्नेछ र यसलाई एआइले बनाएको भनेर लेबल गर्नुपर्नेछ।

टिकटकका नयाँ अमेरिकी मालिकहरूमा ओराकलका सहसंस्थापक ल्यारी एलिसन प्रमुख छन्। ट्रम्प प्रशासनसँग लामो समयदेखि सम्बन्धित एलिसनले बाइटडान्सलाई टिकटक बेच्न प्रोत्साहित गर्ने प्रक्रियामा भूमिका खेलेका थिए। यसले केही प्रयोगकर्तामा सामग्री मोडरेसन र फिडमा देखिने भिडियोबारे चिन्ता बढाएको छ। विश्लेषकहरूले यदि मोडरेसन कुनै राजनीतिक दृष्टिकोणमा झुक्यो वा मिसइन्फर्मेसन रोक्न असफल भयो भने प्रयोगकर्ताले प्रतिस्पर्धी प्लेटफर्ममा जान सक्ने खतरा रहेको बताएका छन्।

अमेरिकी सरकारका अधिकारी जेडी भान्स र राष्ट्रपति ट्रम्प पनि अमेरिकी टिकटक खरिद प्रक्रियामा संलग्न थिए। सेप्टेम्बरमा अमेरिकी र चिनियाँ अधिकारीबीच म्याड्रिडमा भएको बैठकमा उनीहरूले सम्झौता अन्त्यसम्म पुर्‍याउन दबाब दिएका थिए। त्यसपछि ट्रम्पले टिकटकलाई अमेरिका मा सञ्चालन जारी राख्न अनुमति दिने कार्यकारी आदेश जारी गरे।

अमेरिकी कंग्रेसले २०२४ मा बाइटडान्सबाट टिकटक अलग गर्न कानुन बनाएको थियो। सांसदहरूले चिन्ता व्यक्त गरेका थिए कि चिनियाँ सरकार टिकटकको एल्गोरिदममार्फत प्रचार प्रसार गर्न वा व्यक्तिगत डाटा संकलन गर्न सक्नेछ। नयाँ अमेरिकी मालिक समूहले बाइटडान्सबाट एल्गोरिदम लाइसेन्स लिने भएकाले कानुनी सुरक्षा अझै पूर्ण रूपमा स्पष्ट छैन।

प्रयोगकर्ता र क्रिएटरहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। टिकटक अमेरिकामा बन्द हुने डर हटेकामा न्युजर्सीका स्किप च्यापम्यान खुसी छन्। उनी केएएफएक्स बडी उत्पादन टिकटकमार्फत बेच्दै आएका छन्। उनका अनुसार टिकटक शपबाट बिक्रीको ८० प्रतिशत आउँछ। उनी आशावादी छन् कि नयाँ मालिकहरूले सोसियल कमर्सलाई प्राथमिकता दिनेछन् र सुविधाहरू अझ थप्नेछन्। लास भेगासमा ला भेसिन्डेड मेक्सिकन रेस्टुरेन्स सञ्चालक भानेस्सा ब्यारेट भने पर्खेर हेर्ने मानसिकतामा छिन्। उनले भनिन्, ‘कुनै ठूलो परिवर्तन हुँदा अनिश्चितता हुन्छ, तर टिकटकले  धेरैलाई आवाज दिन सक्षम बनाएको छ। त्यो प्रभाव रातारात हराउँदैन।’

विश्लेषकहरूले भविष्यमा अमेरिकी एल्गोरिदमले फिडमा के देखिने भन्ने कुरालाई ध्यानपूर्वक नियाल्ने चेतावनी दिएका छन्। यदि अमेरिकी केन्द्रित फिडले संलग्नता बढायो भने टिकटकको बजारमा अझ सुदृढ उपस्थिति देखिनेछ। तर यदि यसले वैश्विक आकर्षण घटायो भने प्रयोगकर्ताको विश्वासमा असर पर्न सक्छ। व्यवसायका दृष्टिले हेर्दा टिकटकको स्थिरता सानो र मध्यम व्यवसायहरूका लागि ठूलो महत्व राख्छ। च्यापम्यान र ब्यारेट जस्ता साना व्यवसायीहरूका लागि टिकटकको पहुँचले ग्राहक भेट्ने र बिक्री बढाउने मुख्य माध्यमको रूपमा काम गरिरहेको छ।

टिकटकले अमेरिकी बजारमा प्रयोगकर्ता आधार र व्यवसायिक अवसरहरू कायम राख्ने प्रयास गरिरहेको छ। तर नयाँ एल्गोरिदम, अमेरिकी मालिकहरूको प्रभाव, र कानुनी सुरक्षा सवालहरू सबै मिलेर भविष्यमा टिकटक अनुभवलाई नयाँ रूप दिन सक्नेछन्।

प्रयोगकर्ताहरू, क्रिएटरहरू र व्यवसायहरूले अब ‘पर्खेर हेर्ने’ रणनीति अपनाएका छन्। टिकटकले आफ्नो लोकप्रियता, सांस्कृतिक प्रभाव र व्यावसायिक अवसरहरू कायम राख्न सक्ने कि होइन, त्यसको परीक्षण अब सुरु भएको छ।(एपी)