काठमाडौं। वाणिज्य बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जा करिब सवा एक खर्ब रुपैयाँ दिन सक्ने देखिएको छ।
हाल उपलब्ध तरलताका आधारमा वाणिज्य बैंकहरु सेयर धितोबापत अझै १ खर्ब १४ अर्ब ४९ करोड रुपैयाँ ऋण दिन सक्ने अवस्थामा देखिएका हुन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोर क्यापिटलको ४० प्रतिशतसम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरुको कोर क्यापिटल ६ खर्ब ८२ करोड रुपैयाँ छ। जसअनुसार वाणिज्य बैंकहरुले सेयर धितोबापत कुल २ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ लगानी गर्न सक्छन्।
चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुले सेयर धितोमा १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
केही बैंकहरु भने पुँजीकोषमा दबाबका कारण क्षमता भए पनि लगानी गर्न सक्ने स्थितिमा छैनन्। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चार वाणिज्य बैंकको पुँजीकोष बोर्डर लाइनमा छ।
माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीकोष ८.७३ प्रतिशत, हिमालयन बैंकको ८.६८ प्रतिशत, कुमारी बैंकको ८.५४ प्रतिशत र सिटिजन्सको ८.५३ प्रतिशत छ।
अन्य आधार दर्जन बैंकको प्राथमिक पुँजीकोष अनुपात ९ प्रतिशत हाराहारीमा छ। वाणिज्य बैंकहरुले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत कायम गर्नुपर्छ। पुँजीकोष जति धेरै हुन्छ त्यती नै लगानी क्षमता हुन्छ। ऋण असुली बिग्रिएर बढेको प्रोभिजनिङका कारण बैंकहरुको पुँजीकोष संकुचित हुँदै आइरहेको छ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामचन्द्र खनाल सेयर कर्जाको माग ठिक ठाकै भए पनि पुँजीकोषका कारण निर्धक्कसँग लगानी गर्ने अवस्था नरहेको बताउँछन्।
‘सरकारले प्राथमिकताको क्षेत्र तोकेर कृषि, ऊर्जा र साना तथा मझौला क्षेत्रमा लगानीको सीमा तोकेको छ। लगानी एउटै क्षेत्रमा गर्न पाइँदैन। अहिले पुँजीकोषमा चाप परेको अवस्था छ,’ उनले बिजमाण्डूसँग भने, ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जा कोर क्यापिटलको ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था हो। तर, हामी स्पेस भए पनि पुँजीकोष सीमा नजिक रहेकाले माग्न आउने सबैलाई दिन सक्ने अवस्थामा छैनौं।’
स्टान्डर्ड चार्टर्ड बैंकसँग सेयर धितोबापत ८ अर्ब ७ करोड रुपैयाँ ऋण दिन सक्ने क्षमता छ। तर यो बैंकले सेयर धितो कर्जा दिने गरेको छैन।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग सेयर धितोमा लगानी क्षमता सबैभन्दा धेरै छ। यो बैंकसँग सेयर धितोमा अझै १६ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने स्पेस देखिएको हो। छ। नेपाल इन्भेष्टमेन्टले मंसिर मसान्तसम्म यो क्षेत्रमा ३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सेयर धितोमा सबैभन्दा कम लगानी लगानी क्षमता रहेको बैंक सिद्धार्थ हो। सिद्धार्थसँग सेयर धितोमा अब १ अर्ब ७९ करोड रुपैयाँभन्दा लगानी गर्ने स्पेस छैन। बैंकले सेयर धितोमा हालसम्म ८ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ।
सेयर धितोमा हालसम्म सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक नबिल हो। नबिलले अहिलेसम्म १५ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेकामा अझै ५ अर्ब २४ करोड रुपैयाँ ऋण दिने क्षमता छ।
पछिल्लो समय कर्जाको माग बढ्न थालेको छ। नियामकीय सहजताका कारण सेयर धितो कर्जाको पनि माग बढेको अर्का एक बैंकरले बताए।
‘राष्ट्र बैंकले गत वर्ष यस्तो कर्जाको जोखिम भार घटाएर कर्जा प्रोत्साहन गर्ने नीति लियो। चालु आवको मौद्रिक नीतिबाट एकल ग्राहक कर्जाको सीमा पनि हटाइसकेको छ,’ ती बैंकरले भने, ‘एकपछि अर्को लचकताले यस्तो कर्जा बढ्न थालेको छ।’
राष्ट्र बैंकले सेयर कर्जामा १५० प्रतिशतसम्मको जोखिम भार १०० प्रतिशतमा झारिसकेको छ। साथै, एकल ग्राहक कर्जाको सीमा यसअघि नै खारेज गरिसकेको छ।
| वाणिज्य बैंक | कोर क्यापिटल (रु.१० लाखमा) | कूल सेयर कर्जा लगानी क्षमता (रु.१० लाखमा) | प्रवाहित सेयर कर्जा (रु.१० लाखमा) | थप लगानी क्षमता (रु.१० लाखमा) |
| नेपाल | २४,४०५ | ९७६२ | ७,१६६.७४ | २,५९५.२६ |
| राष्ट्रिय वाणिज्य | ३०,३०१ | १२१२०.४ | ७,४६५.५६ | ४,६५४.८४ |
| कृषि विकास | ३२,३११ | १२९२४.४ | ६,९२५.६९ | ५,९९८.७१ |
| नबिल | ५२,६९३ | २१०७७.२ | १५,८३३.१५ | ५,२४४.०५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ५०,४१६ | २०१६६.४ | ३,९८२.५९ | १६,१८३.८१ |
| स्टान्डर्ड चार्टर्ड | २१,३४५ | ८५३८ | – | – |
| हिमालयन | २६,४३४ | १०५७३.६ | ३,०२१.३६ | ७,५५२.२४ |
| नेपाल एसबिआई | १८,५३५ | ७४१४ | ५८६.०६ | ६,८२७.९४ |
| एभरेष्ट | २९,०२४ | ११६०९.६ | ३,८३२.२७ | ७,७७७.३३ |
| एनआईसी एसिया | २२,१८७ | ८८७४.८ | ३,५३२.६७ | ५,३४२.१३ |
| माछापुच्छ्रे | १६,२७३ | ६५०९.२ | ३,८९८.८७ | २,६१०.३३ |
| कुमारी | ३०,५०८ | १२२०३.२ | १०,२७६.९८ | १,९२६.२२ |
| लक्ष्मी सनराइज | ३६,९६६ | १४७८६.४ | ८,३०४.१७ | ६,४८२.२३ |
| सिद्धार्थ | २६,४७३ | १०५८९.२ | ८,७९६.९२ | १,७९२.२८ |
| ग्लोबल आइएमई | ५५,५९२ | २२२३६.८ | १३,५२४.८८ | ८,७११.९२ |
| सिटिजन्स | १९,१०९ | ७६४३.६ | ६,२१५.१७ | १,४२८.४३ |
| प्राइम | २८,८५५ | ११५४२ | ९,४२६.९४ | २,११५.०६ |
| एनएमबि | २८,२९२ | ११३१६.८ | ३,२०९.८६ | ८,१०६.९४ |
| प्रभु | ३१,०५५ | १२४२२ | ६,३७९.५८ | ६,०४२.४२ |
| सानिमा | २०,०५० | ८०२० | ३,४५९.१६ | ४,५६०.८४ |
| जम्मा | ६००,८२४ | २४०३२९.६ | १२५,८३८.६२ | ११४,४९०.९८ |










