देश निर्वाचनमय हुँदा सेयर बजारमा उत्साह, ६ महिनायताकै धेरै कारोबार



बिजमाण्डू
२०८२ माघ ६ गते १५:२९ | Jan 20, 2026
देश निर्वाचनमय हुँदा सेयर बजारमा उत्साह, ६ महिनायताकै धेरै कारोबार

काठमाडौं। राजनीतिक अनिश्चितता हट्दै जाँदा सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास फर्किएको छ। ६ महिनायताकै उच्च कारोबारसहित मंगलबार नेप्से दोहोरो अंकले उक्लिँदा बजारमा चुनावी माहोलको सकारात्मक प्रभाव स्पष्ट देखिएको हो।

Tata
GBIME
Nepal Life

सेयर बजारमा ६ महिनायताकै सर्वाधिक करोबार भएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको हो। मंगलबार भएको सेयर किनबेच चालु आर्थिक वर्षको साउन उताकै सबैभन्दा धेरै हो। यसअघि साउन १८ गते १३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो।

नेप्से सूचक ४२.२६ अंक बढेर २७१४.८१ विन्दुमा पुगेको छ। बजारले लिएको यो उचाइ जेनजी आन्दोलपछिकै धेरै हो। नेप्से परिसूचक यसअघि भदौ १९ गते २७१९ विन्दुमा थियो।

चुनावी माहोलको बजारमा अहिले सकारात्मक प्रभाव देखिएको हो। फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनमा दलहरु होमिएका छन्। सोमबार राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। योसँगै निर्धारित समयमै चुनावको सुनिश्चितता भएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले कन्फिडेन्स गुमाउँदाको प्रभाव बजारमा देखिएको थियो। आन्दोलनपछि सेयर बजार निरन्तर ओरालो लागेकामा अहिले बढ्न थालेको हो।

कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै ३.३६ प्रतिशतले बढेको छ। बजारमा २२४ कम्पनीका लगानीकर्ताले कमाउँदा गोर्खाज फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

३१ कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो।

बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सबैभन्दा धेरै ४० करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै,राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

सेयर बजारका जानकारहरूका अनुसार पछिल्ला दिनमा देखिएको सुधारको मुख्य कारण राजनीतिक जोखिम घट्नु र चुनाव समयमै हुने संकेत हो। लामो समयदेखि नीति अन्योल, आन्दोलन र सत्ता समीकरणको अस्थिरताले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए।

तर, उम्मेदवारी दर्तासँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेपछि बजारमा मनोवैज्ञानिक रूपमा सकारात्मक सन्देश गएको छ। त्यसको असर कारोबार रकम र सूचक दुवैमा देखिएको हो।