विवादित नयाँ बिलिङ प्रणालीको ठेक्का रद्द, कूटनीतिक टकरावको असर नेपाल टेलिकममा



बिजमाण्डू
२०८२ माघ ४ गते ०६:३० | Jan 18, 2026
विवादित नयाँ बिलिङ प्रणालीको ठेक्का रद्द, कूटनीतिक टकरावको असर नेपाल टेलिकममा

काठमाडौं । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीको टेण्डर रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँको कनभर्जेन्ट रियल टाइम बिलिङ र कस्टमर सपोर्ट प्रणालीको आपूर्ति, डेलिभरी, स्थापनाका गरिएको विवादित टेण्डर प्रक्रिया रद्द गरिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल टेलिकमले सूचना निकाल्दै शुक्रबार बसेको कम्पनीको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको जनाएको हो।

नेपाल टेलिकमको विलिङ प्रणालीमा समस्या आउँदा पटकपटक डेटा र केही पोष्टपेड मोबाइलको सेवा अवरुद्ध हुने गरेको छ। चिनियाँ कम्पनी एसिया इन्फोको पूरानो विलिङ प्रणाली बिग्रिदा टेलिकमको सेवा बारम्बार अवरुद्ध हुँदै आएको हो। यही पुरानो प्रणाली फेर्नका लागि बिलिङको ठेक्का पनि विवादित बनेर अगाडि बढ्न नसकेको हो।

यसअघि नयाँ संचार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले प्राविधिक प्रस्ताव खोल्ने अघिल्लो दिन बिलिङ प्रणालीको टेण्डर स्थगित गर्न टेलिकमलाई निर्देशन दिएका थिए। स्रोतका अनुसार ठेक्का विवादित भएकाले प्राविधिक प्रस्ताव खोल्दा समस्या हुने भएकाले उनले स्थगित गर्न लगाएका हुन्।

पहिला टेण्डरको सूचना निकालेर स्थगित गरेको टेलिकमले अहिले भने टेण्डर प्रक्रिया नै रद्द गरेको हो। स्रोतका अनुसार भूराजनीतिक कारणले चिनियाँ कम्पनीलाई ठेक्का दिँदा समस्या आउने भन्दै खरेलले त्यसबेला तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका थिए।

टेलिकममा कोर नेटवर्क र बिलिङ प्रणाली चिनियाँ कम्पनी भएकोप्रति अमेरिकी दूतावासले गम्भीर चासो राख्दै आएको छ।

मोबाइल सेवाको सुरुवातसँगै चिनियाँ कम्पनीको प्रभाव बढ्दै गएको र टेलिकमको सबै सुचना प्रणालीमा एक्सेस रहेको भन्दै अमेरिकीले बिलिङमा अर्को कम्पनी ल्याउन दबाब दिँदै आएको छ। तर, बिलिङको ठेक्का साढे पाँच अर्ब रुपैयाँको आएपछि अमेरिकी कम्पनीले टेण्डरनै भरेनन्।

सम्बन्धित समाचार : टेलिकमको बिलिङ ठेक्कामा ‘पेनड्राइभ’बाट डकुमेन्ट पेस, स्वार्थ समूहको प्लान फाइभजीसम्म

त्यसपछि बिलिङको ठेक्कामा दुईवटा चिनियाँ कम्पनी ह्वेल क्लाउड र हुवावेले टेण्डर हालेका थिए। टेलिकमले प्राविधिक प्रस्तावका आधारमा हुवावेलाई छनोंट गर्ने तयारी गरेको थियो। तर, यो प्रक्रिया अघि नै बढ्न सकेन।