लघुवित्तले ग्राहक संरक्षण कोषको रकम दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका लागि खर्च गर्न पाउने



बिजमाण्डू
२०८२ माघ २ गते १६:५९ | Jan 16, 2026
लघुवित्तले ग्राहक संरक्षण कोषको रकम दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका लागि खर्च गर्न पाउने

काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषको रकमबाट दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका परिवारलाई सहयोग गर्न पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार नेपाल राष्ट्र बैंकले सर्कूलर जारी गर्दै कोषको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकहरूको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमा मात्र खर्च गर्न भनेको हो।

यसअघि, कोषमा रहेको रकम ग्राहक सदस्यहरूको सामूहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षण एवम् पुनर्स्थापना गर्न तथा ग्राहकहरूको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमा मात्र खर्च गर्न दिइएको थियो।

सर्वसाधारणबाट निक्षेप परिचालन नगर्ने लघुवित्तले अघिल्लो महिनाको कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्तिको व्यवस्था गर्नुपर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा रहेको बचत र मुद्दतिको हकमा ९० प्रतिशतसम्म निक्षेपलाई तरल सम्पत्तिको रुपमा कायम गर्न सक्नेछन्।

यसअघि वाणिज्य बैंकहरूमा रहेको निक्षेपलाई मात्रै तरल सम्पत्तिका रुपमा देखाउन पाउने व्यवस्था थियो।

लघुवित्त वित्तीय संस्थाले आफूले असल वर्गमा वर्गीकरण कर्जाको उठ्न बाँकी ब्याजलाई वित्तीय विवरणमा देखाउँदा आफ्नो लेखा नीतिमा समेत खुलाउनु पर्ने उल्लेख छ। कमाएको र गरेको खर्च नगद आएको/गएको समयमा नभई वास्तवमै आम्दानी कमाएको वा खर्च उत्पन्न भएको समयमा आफ्नो लेखामा देखाउन राष्ट्र बैंकले सर्कूलर गरेको छ।