आइफोनमा एआइ फिचर ल्याउन एप्पलले गुगलसँग सहकार्य गर्दै, ‘सिरी’ हुनेछ स्मार्ट



बिजमाण्डू
२०८२ पुष २९ गते ११:३२ | Jan 13, 2026
आइफोनमा एआइ फिचर ल्याउन एप्पलले गुगलसँग सहकार्य गर्दै, ‘सिरी’ हुनेछ स्मार्ट

एआई प्रविधिको पछिल्लो प्रतिस्पर्धामा पछि परेको एप्पलले आफ्नो भर्चुअल सहायक ‘सिरी’लाई स्मार्ट बनाउन तथा आईफोनमा अन्य एआई फिचर ल्याउन गुगलको सहयोग लिने भएको छ।

Tata
GBIME
Nepal Life

सिलिकन भ्यालीका दुई प्रविधि दिग्गज एप्पल र गुगलले सोमबार संयुक्त वक्तव्य जारी गर्दै यस सम्झौताको जानकारी दिएका हुन्। सम्झौताअनुसार एप्पलले गुगलको ‘जेमिनी’ प्रविधिको प्रयोग गरी ‘एप्पल इन्टेलिजेन्स’ नाम दिइएको एआई फिचरको प्याकेज आईफोन तथा अन्य उपकरणहरूमा समायोजन गर्नेछ।

एआई दौडमा गुगललगायत अन्य कम्पनीहरूले सुरुआती अग्रता लिएपछि एप्पलले २०२४ मा आईफोनका लागि ठूलो सफ्टवेयर अपडेटमार्फत नयाँ एआई फिचर ल्याउने वाचा गरेको थियो। तर एप्पलका धेरै एआई फिचर अझै विकासकै चरणमा छन्, जबकि गुगल र सामसङले आफ्ना उपकरणहरूमा एआई प्रविधि व्यापक रूपमा प्रयोग गर्न थालिसकेका छन्।

आईफोनमा सबैभन्दा ठूलो एआई अभावका रूपमा ‘सिरी’को सुधारलाई लिइएको छ। सिरीलाई बढी संवादात्मक र बहुकार्य गर्न सक्ने सहायक बनाउने योजना सार्वजनिक गरिए पनि त्यसमा प्रगति हुन सकेन। उल्टै, गुगलले गत गर्मीयाममा सार्वजनिक गरेको आफ्नो नयाँ पिक्सेल फोनको विज्ञापनमार्फत आईफोनको एआई कमजोरीलाई व्यङ्ग्यसमेत गरेको थियो।

एप्पलका यी एआई चुकका कारण कम्पनीले गत वर्ष सिरीको बहुप्रतीक्षित सुधार २०२६ को कुनै समयसम्म नआउने स्वीकार गरेको थियो।

एप्पलले अप्रत्यक्ष रूपमा गुगलको एआईलाई समर्थन गर्नु गुगलका लागि ठूलो सफलता मानिएको छ। गुगलले आफ्नो खोज इन्जिन र जीमेलजस्ता सेवामा जेमिनी प्रविधिमा आधारित फिचरहरू विस्तार गर्दै आएको छ, जसले ओपनएआईको च्याटजीपीटीसँगको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ। उल्लेखनीय त के छ भने च्याटजीपीटीसँग पनि एप्पलको सम्झौता छ, जसले आईफोनमा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने सुविधा दिन्छ।

वेडबश सेक्युरिटिजका विश्लेषक ड्यान आइभ्सले यस सम्झौतालाई ‘गुगलका लागि ठूलो मान्यता प्राप्त गर्ने क्षण’ भएको टिप्पणी गरेका छन्।

गुगलको एआई क्षेत्रमा भएको प्रगतिले यसको मातृ कम्पनी अल्फाबेटलाई लगानीकर्ताको मूल्यांकनमा एप्पलभन्दा अलिक बढी मूल्यवान बनाएको छ। सोमबार अल्फाबेटले पहिलो पटक ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो।

यद्यपि, अल्फाबेटको बजार मूल्य एप्पलभन्दा करिब १५० अर्ब डलरले मात्रै माथि छ। एआई उदय हुनुअघि वर्षौंसम्म एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनी रहँदै आएको थियो।

पछिल्लो एक वर्षमा थप तीन कम्पनी चार ट्रिलियन डलरको क्लबमा प्रवेश गरेका छन्। एआई चिप निर्माता एनभिडिया गत जुलाईमा पहिलो कम्पनी बनेको थियो। एप्पल र माइक्रोसफ्टले पनि गत वर्ष यो सीमाना पार गरे तापनि हाल उनीहरूको बजार मूल्य चार ट्रिलियनभन्दा तल झरेको छ।

एनभिडियाको बजार मूल्य गत अक्टोबरको अन्त्यतिर अस्थायी रूपमा ५ ट्रिलियन डलर नाघे पनि एआई क्षेत्रमा भइरहेको अत्यधिक लगानीले सम्भावित ‘बबल’ सिर्जना हुन सक्ने चिन्ताका कारण पछि घटेको हो। यद्यपि, एआईका लागि डिजाइन गरिएका यसको चिपको माग उच्च रहेकाले एनभिडिया अहिले पनि करिब ४.५ ट्रिलियन डलरको मूल्यसहित अग्रस्थानमा छ।

गत सेप्टेम्बरदेखि अल्फाबेटको सेयर मूल्य तीव्र रूपमा बढ्दै आएको छ। अमेरिकी सरकारले गुगलको इन्टरनेट साम्राज्य टुक्रयाउने प्रयासबाट जोगिन सफल भएपछि लगानीकर्ताहरू उत्साहित भएका हुन्। अघिल्लो वर्ष गुगलको खोज इन्जिनलाई अवैध एकाधिकार ठहर गरिएको थियो।

कानुनी विवादका मामिलाको सुनुवाइ गरिरहेका संघीय न्यायाधीशले केही संरचनात्मक परिवर्तनको आदेश दिए पनि त्यसलाई लगानीकर्ताहरूले ‘सामान्य सजाय’ का रूपमा लिएका छन्। त्यसयता अल्फाबेटको सेयर मूल्य ५७ प्रतिशतले बढ्दै थप १.४ ट्रिलियन डलर बराबरको सम्पत्ति सिर्जना भएको छ।

उक्त फैसलाले गुगल र एप्पलबीचको लामो समयदेखिको खोजसम्बन्धी साझेदारीलाई पनि निरन्तरता दिने बाटो खुला राखेको छ। गुगलले आईफोन तथा एप्पलका अन्य उपकरणमा आफूलाई प्राथमिक खोज इन्जिन बनाइराख्न वार्षिक २० अर्ब डलरभन्दा बढी रकम एप्पललाई तिर्दै आएको छ। न्यायाधीशको निर्णयअनुसार केही संशोधनसहित यो व्यवस्था अझै मान्य रहनेछ।