काठमाडौं। गोरखाबाट सुरु भएको नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाडौं आइपुगेको छ।
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले हिँडेको ऐतिहासिक बाटो पछ्याउँदै उक्त पदयात्रा गरिएको हो।


गत पुस २१ गते गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा शनिबार दिउँसो ४ बजेर ५० मिनेटमा काठमाडौंको हनुमानढोका आइपुगेको छ। गोरखाबाट प्रस्थान गरेको टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आएको हो।

र्यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयका सैनिकले प्रयोग गरेका जस्तै पोषाक र हतियारमा सजिएका देखिन्थे। नेपाली सेनाका अनुसार र्यालीको समापन यही पुस २७ गते सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा विशेष कार्यक्रम गरी गरिने कार्यतालिका छ।















