काठमाडौं। बैंकहरुको वित्तीय विवरणमा धेरै नै फेरबदल देखिएको छ। बैंंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणमा भन्दा परिस्कृत विवरणमा अधिकांश सूचकमा धेरै फेरबदल देखिएको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत वित्तीय विवरणअनुसार बैंकहरुको कर्जा नोक्सानी उच्च दरले बढेको छ।
वित्तीय विवरण स्वीकृत भएका १९ मध्ये १५ बैंकहरुको अपरिस्कृत तथ्यांकभन्दा परिस्कृत वित्तीय विवरणमा कर्जा नोक्सानी ७ अर्ब ६७ करोडले बढेको छ। कर्जा नोक्सानी बढ्दा ती बैंकहरुको नाफा ७ अर्ब १५ करोड रुपैयाँले खुम्चिएको छ।
अपरिस्कृत वित्तीय विवरणको तुलनामा राष्ट्र बैंकबाट स्वीकृत वित्तीय विवरण हेर्दा १५ मध्ये १२ बैंकको कर्जा नोक्सानी थपिएको छ। दुई वटा बैंकको स्थिर छ भने प्रभु बैंकको कर्जा नोक्सानी घटेर नाफा बढेको छ।
अपरिस्कृत वित्तीय विवरणमा बैंकहरुले खराब कर्जा (एनपीएल) कम देखाउँदै प्रोभिजनिङमा थोरै रकम छुट्याएर नाफा धेरै देखाएका थिए। तर, त्यसविपरीत बाह्य लेखापरीक्षणपछि राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरणले अर्कै तस्वीर देखाएको छ।
अपरिस्कृत वित्तीय विवरणमा लुकाइएको प्रोभिजनिङ परिस्कृत वित्तीय विवरणमा बढेपछि बैंकहरुको नाफा घट्न पुगेको हो।
कर्जा नोक्सानी रकममा वृद्धि र मुनाफा रकम घट्दा वितरण योग्य नाफा, प्रति सेयर आम्दानी, नेथवर्क, सञ्चित नाफा लगायत सबैजसो सूचकमा परिवर्तन देखिएको छ।
परिस्कृत वित्तीय विवरण अनुसार नबिल बैंकको कर्जा नोक्सानी १ अर्ब ८१ करोडले थपिएको छ। कर्जा नोक्सानी थपिंदा बैंकको नाफा १ अर्ब २० करोडले खुम्चिएको छ। अनअडिटेड रिपोर्टमा बैंकको नाफा ७ अर्ब १२ करोड रहेकामा अडिटेड रिपोर्टमा ५ अर्ब ९२ करोडमा झरेको छ।
त्यसैगरी, कर्जा नोक्सानी ग्लोबल आइएमई बैंकको १ अर्ब ६७ करोड, प्राइम कमर्सियल बैंकको १ अर्ब ३० करोड, नेपाल बैंकको १ अर्ब १२ करोड, एनएमबि बैंकको ६८ करोड, कृषि विकास बैंकको ६३ करोड र सिद्धार्थ बैंकको ६ करोड रुपैयाँ थपिएको छ।
अपरिस्कृत र परिष्कृत विवरणमा धेरै फरक पर्नुलाई राष्ट्र बैंकले स्वाभाविकरुपमा लिएको छैन। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले धेरै बैंकको गत आर्थिक वर्षको अपरिस्कृत र परिस्कृत वित्तीय विवरणमा धेरै फेरबदल देखिएको बताए।
‘अपरिस्कृत वित्तीय विवरणको तथ्यांक र परिस्कृत वित्तीय विवरणको तथ्यांकमा धेरै फरक नपर्नुपर्ने हो। तर, अधिकांश बैंकको यस्तो विवरणमा धेरै फरक देखिएको छ,’ उनले भने, ‘अपरिष्कृत वित्तीय विवरण परिस्कृत विवरणको नजिक हुनुपर्छ। तर लेखापरीक्षण पछि हामीले स्कीकृत गर्ने चरणमा हेर्दा अपरिस्कृत वित्तीय विवरण अनुमानमा आधारित भएर बनाएको देखिन्छ। यसरी धेरै फरक पर्नु राम्रो होइन।’
बैंकहरुले आफूलाई राम्रो देखाउनका लागि अनुमानका आधारमा विवरण राखेका अनअडिटेड रिपोर्ट र अडिटेड रिपोर्टमा धेरै अन्तर परेको राष्ट्र बैंकका एक कर्मचारीले बताए।
१९ वाणिज्य बैंकमध्ये ४ वटाले स्वीकृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। कुमारी, हिमालयन, राष्ट्रिय वाणिज्य र नेपाल एसबिआइ बैंकले राष्ट्र बैंकबाट स्वीकृत वार्षिक वित्तीय विवरण सार्वजनिक नगरेका हुन्।
एनआइसी एसिया बैंकले अन्तिम लेखापरीक्षण गराएको वित्तीय विवरण भने राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ।
बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण बाह्य लेखापरीक्षण गराएर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिइ वार्षिक साधारण सभा गर्नुपर्छ। हालसम्म १० वाणिज्य बैंकले साधारण सभा सम्पन्न गरेका छन्।
कुन बैंकको नाफा कति घट्यो?
| वाणिज्य बैंक | २०८१/८२ परिस्कृत रिपोर्टमा नाफा (रुपैयाँमा) | २०८१/८२ अपरिस्कृत रिपोर्टमा नाफा (रुपैयाँमा) | २०८१/८२ परिस्कृत रिपोर्टमा कर्जा नोक्सानी (रुपैयाँमा) | २०८१/८२ अपरिस्कृत रिपोर्टमा कर्जा नोक्सानी (रुपैयाँमा) |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ४,२३५,६२९,८९६ | ६,७५६,६४९,००० | -५,१११,५६४,२३८ | -५७४,४०९,००० |
| प्रभु | ८७२,३२६,००० | ५१०,८५६,००० | २,४०२,८६८,००० | ४,७१९, ८७१,००० |
| माछापुच्छ्रे | १,८८३,६४३,४८८ | २,०११,४६१,५१९ | ५५६,६५७,०४५ | ३५३,७७१,२८५ |
| एभरेष्ट | ४,८३९,९०३,४७२ | ४,९१८,१६५,००० | -१५५,३२६,६१८ | -१६१,७२२,००० |
| स्टान्डर्ड चार्टर्ड | ३,०२९,३०३,००० | ३,०२९,३०३,००० | -३३,९३४,००० | -३३,९३४,००० |
| सिटिजन्स | १,२८७,०७५,१०५ | १,२९३,३२१,३९० | -२,६८०,००९,४०९ | -२,६७६,२३८,३७४ |
| कृषि विकास | ३,७३२,४१६,१९५ | ४,१५४,४७५,७९२ | ६३०,७७२,०१० | १०६,२२१,७६४ |
| सानिमा | २,५७२,४६३,९८० | २,५७१,१५५,९५३ | १८८९१२०७८० | १,८८९,१२०,७८० |
| ग्लोबल आइएमई | ५,०७६,३०३,८९५ | ६,२०४,७४५,००० | ५,९७६,५९५,८११ | ४,३०५,४११,००० |
| लक्ष्मी सनराइज | ४,०६२,०४४,७२६ | ४,११६,९६७,००० | १,२५८,००८,९३५ | -१,१८०,२४६,००० |
| नेपाल | ३,०७८,०३०,९१९ | ३,७७३,००८,९८७ | २,२५४,३६५,४१४ | १,१३५,५९७,६०९ |
| प्राइम कमर्सियल | ३,२००,७५८,९५५ | ४,०२४,४३१,५६६ | २,७२०,७४३,७६१ | १,४१९,४९६,३५० |
| नबिल | ५,९२२,१४४,०४७ | ७,१२७,५६६,००० | ४,२०१,४१२,३५५ | २,३९७,९०६,००० |
| एनएमबि | २,८५४,६३८,३५७ | ३,२८१,७९१,००० | १,६३८,१७०,२३२ | ९५८०८२००० |
| सिद्धार्थ | ३,३६६,५९४,२८२ | ३,३९५,२८५,७२६ | १,३७५,३२१,९८२ | १,३१५,३६१,४१८ |
| जम्मा | ५०,०१३,२७६,३१७ | ५७,१६९,१८२,९३३ | १६,९२३,२०२,०६० | ९,२५४,४१८,८३२ |











