काठमाडौं । बैंक तथा वित्तीय संस्था दोस्रो त्रैमासको वित्तीय विवरण राम्रो देखाउन ऋण असुलीको चटारोमा देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरु ब्यालेन्स सिट बलियो देखाउन पुस लागेयता नै असुलीमा बढी केन्द्रित भएका हुन्।
पछिल्लो समय मासिक डेढ खर्ब रुपैयाँ भन्दा माथिको वस्तु आयात भए पनि अन्य क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन। नयाँ लगानी गर्न नसकेका बैंकहरु अहिले पुरानो ऋण असुली गरी दोस्रो त्रैमासको रिपोर्ट राम्रो बनाउन केन्द्रित भएका हुन्।
तर, ऋण असुली पनि सन्तोषजनक छैन। एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य अघिल्लो त्रैमासको तुलनामा यसपालि ऋण असुलीमा थोरै सुधार देखिएको बताउँछन्।
‘धेरै एक्साइटमेन्ट भइहाल्ने अवस्था छैन्। तर, अघिल्लो त्रैमासको तुलनामा ऋण असुली थोरै सुधार भएको छ,’ शाक्यले बिजमाण्डूसँग भने।
चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरुको नाफा १८.७८ प्रतिशतले खुम्चिएको थियो।
हरेक आर्थिक वर्ष पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा ऋण असुली राम्रो हुन्छ। त्यसमाथि राष्ट्र बैंकले जेनजी आन्दोलनको क्रममा सिर्जना भएको आसामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा पुस मसान्तसम्म पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा दिएको थियो।
निष्कृय कर्जा व्यवस्थापनले बैंकहरुको प्रोभिजनिङ बढ्न नदिंदा नाफामा सकारात्मक प्रभाव पर्छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय पछिल्लो समय ठूलो कर्जा असुली हुन थालेको बढेको बताउँछन्। ‘ऋण असुलीमा सुधार नभएको भन्ने होइन। तर उत्साहजनक पनि छैन,’ उनले भने।
लगानी विस्तार नहुँदा र रेमिटेन्स वृद्धिले लगानीयोग्य रकम (तरलता) थुप्रिँदा कर्जाको ब्याजदर साढे ७ प्रतिशतभन्दा तल आएको छ। तैपनि नयाँ कर्जाको माग निक्कै सुस्त छ।
चालु आर्थिक वर्ष साढे ५ महिनामा वाणिज्य बैंकहरुबाट जम्मा ७६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। पोहोर यहि अवधिमा १२७ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो। घटेको ब्याजले कर्जा तिर्ने क्षमता बढ्नुपर्नेमा असुलीमा अपेक्षाजनक सुधार छैन।
असुलीका क्रममा बैंकका कर्मचारीमाथि कुटपिट र धम्काउने गतिविधिको असरस्वरुप ऋण असुली प्रभावित भएको अर्का एक सीइओले बताए।
‘बैंकका कर्मचारीमाथि ऋणीका तर्फबाट भएका व्यवहारले असुली प्रभावित भएको छ। ऋण असुली भएन भने हामी धितो लिलामको प्रक्रिमा जाने हो। तर लिलाम गर्न खोज्दा बिक्री हुँदैन। इकोनोमीले पिकअप नलिएसम्म असुली अपेक्षितरुपमा बढ्ने देखिंदैन,’ ती सीइओले भने।
मंसिर अन्तिम साता ऋणको बारेमा बुझ्न गएका ज्योति विकास बैंकका कर्मचारीलाई ऋणीका आफन्तले कुटपिट गरेका थिए।
ऋण असुली अपेक्षाजनक नरहे पनि राष्ट्र बैंकको सहुलियतले नाफामा थोरै राहत पुग्ने बैंकरहरु बताउँछन्। राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जा पुनर्संरचनाको सुविधा दिएकाले निष्कृय कर्जा व्यवस्थापनमा राहत पुगेको भन्दै ब्यालेन्स सिट ठिकठाकै खालको हुने उनीहरुको भनाइ छ।
यसबाहेक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लिलामी प्रक्रिया सुरु भएपश्चात् कर्जा नियमित भएको खण्डमा त्यस्तो कर्जालाई खराबमा वर्गीकरण गर्न अनिवार्य नहुने व्यवस्था गरेको छ।
गैर-बैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि गर्नुपर्ने शतप्रतिशत नोक्सानीको व्यवस्था हटाइएकाले पनि असुलीमा सुधार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाको ब्यालेन्स सिट सुधारमा केही सहयोग पुग्नेछ।











