काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक वर्षमा पौने १५ अर्ब रुपैयाँ आम्दानी गरेको छ।
क्यानले गत आर्थिक वर्ष २०८१/८२ मा १४ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको हो। यो रकम अघिल्लो वर्षको तुलनामा ५ करोड रुपैयाँ बढी हो।
क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले बुधबार क्यानको २७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एरोनटिकलतर्फ १३ अर्ब ५३ करोड ३४ लाख र ननएरोनटिकलतर्फ १ अर्ब २२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए।
‘प्राधिकरणको आम्दानी चित्तबुझ्दो देखिएको छैन। स्वच्छ एभिएसनको लक्ष्य देखिएको छैन। हामीले वायु सेवा कम्पनीलाई भार थुपारेका छौं। आर्थिक रुपमा स्वच्छ एभिएसन मान्न ननएरोनटिकलतर्फ आम्दानी बढाउनुपर्छ,’ उनले भने।
क्यानले गत आर्थिक वर्ष ११ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ।
कर्णका अनुसार सन् २०२५ को ११ महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ९३ लाख ४ हजार ९०६ जना यात्रुले ओहोरदोहोर गरेका छन्।
नेपालबाट अहिले १५ देशका २९ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।
यस्तै आन्तरिकतर्फ देशभरका ३५ विमानस्थलमा २ लाख ५१ हजार ५६० उडान/अवतरणमार्फत १ करोड २२ लाख ९१ हजार ९८९ जनाले यात्रा गरेको कर्णले जानकारी दिए।











