काठमाडौं। नेपालको दुई पाङ्ग्रे बजारमा पछिल्ला केही वर्षदेखि बिक्रीमा ‘ओभरटेक’ गरिरहेको स्कुटरलाई यो वर्ष बाइकले उछिनेको छ।
सन् २०२५ को जनवरीदेखि मध्य डिसेम्बरसम्मको तथ्यांकले बिक्रीमा मोटरसाइकल फेरि अगाडि देखिएको हो। तथ्यांक अनुसार ६६ प्रतिशत हिस्सा मोटरसाइकलको छ भने ३५ प्रतिशत स्कुटरको। अघिल्लो वर्ष स्कुटरको हिस्सा ५५ प्रतिशत र मोटरसाइकलको ४५ प्रतिशत थियो।
१२ महिनाको अवधिमा लगभग २ लाख ४७ हजार २२३ युनिट दुई पाङ्ग्रे सवारी नेपाल भित्रिएको छ। यसमा १ लाख ६२ हजार ७७१ युनिट मोटरसाइकल छ भने ८४ हजार ४५२ युनिट स्कुटर आयात भएको छ। यसरी आयातको तथ्यांक हेर्दा बाइकको बजार बढेको देखिएको हो।
स्कुटरको बिक्री घट्दा बजाज जस्ता स्कुटर नहुने ब्रान्डलाई पनि फाइदा भएको छ। बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापारमा वृद्धि आएको छ। यो ब्रान्डसँग स्कुटर नभएका कारण पछिल्ला केही वर्षहरुमा बजार हिस्सा खुम्चिएको थियो। कम्पनीको पछिल्ला दुई वर्षमा आफ्नो बजार हिस्सा २० हजार युनिटदेखि ४० हजार युनिटमा खुम्चिएको थियो।
अहिले सबैभन्दा धेरै स्कुटर बिक्री गर्ने होन्डा र टीभीएसको बजार केही खुम्चिएको देखिएको छ। गएको दुई वर्षसम्म पहिलो नम्बरमा रहेको होन्डा यो वर्ष दोस्रोमा आएको छ। यस्तै, गत वर्ष दोस्रो नम्बरमा रहेको बजाज यो वर्ष पहिलो नम्बरमा पुगेको छ।
यसरी बजार हिस्सा बढ्नुमा कम्पनीले सबै सेगमेन्ट आफ्नो प्रोडक्टहरु ग्राहक सामु लैजान सफल भएकाले हो। बजाजको आधिकारिक बिक्रेता कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर अमितराज चालिसे बजार चलायमान हुँदै ‘मार्केट रिभाइभ’ निकै राम्रो हुन थालेको बताउँछन्।
‘यसले गर्दा हाम्रो बजारमा बाइकहरु बिक्री बढ्न थालेको हो। जसले धेरै राम्रो सपोर्ट गरिरहेको छ,’ उनले भने, ‘हामीले ल्याएकोमा सबैभन्दा राम्रो स्किम नागरिकताको भरमा बाइक भन्ने योजना नै हो। जसले गर्दा यो अफर योजनाले राम्रो माइलेज पायो।’
चालिसेका अनुसार खेल क्षेत्रको माध्यमबाट पनि किनै राम्रो ‘रेस्पोन्स’ आइरहेको छ।
‘नेपाल प्रिमियर लिग एनपीएलले गर्दा पनि ग्राहकहरुसँग पुग्ने कोसिसमा राम्रो हाइभ र ब्रान्ड प्रिजेन्स पाइयो। यसमा पल्सर एन १२५, १६० र २५० जस्ता मोडललाई ग्राहक सामु लैजान एकदम राम्रो सहयोग पुग्यो,’ उनले भने।
उनका अनुसार अर्को पाटो आफ्नै फाइनान्सिङ कम्पनी हुनु पनि हो।
‘अहिले प्राय सबैले फाइनान्सिङमा सवारीसाधन खरिद गर्छन्। जसमा हामीले आफ्नै कम्पनीबाट उक्त सुविधा दिन्छौं। त्यो पनि बिना कोल्याट्रल, नागरिकताका भरमा,’ उनले भने।
यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु राइड्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक अग्रवालका अनुसार बजार पछिल्लो समय ‘करेक्सन’ भइरहेको छ। जनवरीदेखि अहिलेसम्म ३० प्रतिशतभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधनको बिक्री वृद्धि भएको देखिन्छ।
‘कोभिड १९ को समय २०२०/२१ तिर बजारमा साढे ३ लाख दुई पाङ्ग्रे सवारी बिक्री भएको थियो। त्यसपछि १ लाख ३० हजार युनिटमा आयो। हाम्रो नेपालको सामान्य बजार भनेकै २ लाखदेखि साढे २ लाखसम्मको बजार हिस्सा हो,’ अग्रवालले भने, ‘अहिले करेक्सनतिर गइरहेको देखिन्छ। हाम्रो बजार सेन्टिमेन्टमा हिँड्ने बजार हो। त्यसमा अहिले केही कन्फिडेन्ट आएको देखिन्छ।’
स्कुटरको भन्दा बाइकको बिक्री बढ्नुमा ‘इन्टरसिटी टुर’ गर्नेको जमात बढ्नु कारण पनि एक रहेको अग्रवाल बताउँछन्। ‘पहिले मानिसहरु काठमाडौंदेखि वीरगंज जानु पर्यो भने बस चढेर जाने परिपाटी थियो। तर अहिले इन्टर सिटी ट्राभल मोटरसाइकलमा सजिलो छ,’ उनले भने, ‘मोटरसाइकलको लाइफ धेरै र फ्युल ट्यांकको क्यापासिटी पनि धेरै छ। भूगोल र सडक अनुसार लामो रुटमा मोटरसाइकल अहिलेको अवस्था पर्फेक्ट छ। यस्तै राइडिङ कल्चरले गर्दा महिला राइडरहरु बढ्न थालेका छन्। उनीहरुले पनि बाइक रोज्छन्।’
यसैगरी, विदेशमा काम गर्न र पढ्नका जाने विद्यार्थीको ‘मुभमेन्ट’मा कमी आएको पनि बाइक बिक्री बढ्नुको कारण भएको बिक्रेता बताउँछन्।
‘उनीहरुले नेपालमा बस्ने सोच बनाएका छन्। जसले गर्दा बाइकको डिमान्ड आएको छ। न्यू जेनरेसनलाई नेपालमा बसेर केही गर्नुपर्ने चासो छ। साथै ई कमर्स लगायत राइड सेयरिङ जस्ता सेवा प्रदायकहरुले पनि मोटरसाइकलको बिजनेस बढाएका छन,’ अग्रवालको भनाइ छ।

बजाज मार्केट लिडर बन्दा होन्डा स्कुटरमा लिडर
बजाज अन्य प्रतिस्पर्धीहरुलाई धेरै पछाडि पार्दै पहिलो स्थानमा बस्न सफल भएको छ। कम्पनीले कुल ८७ हजार ६२९ युनिट बाइक आयात गर्दै पहिलो बनेको हो। यस्तै अन्य प्रतिस्पर्धामा हिरो, यामाहा र टीभीएस छन्।
बजाजको आधिकारिक बिक्रेताले १२ महिनामा ८७ हजार ६२९ युनिट बाइक ल्याएको हो। यसरी कम्पनी दुई पाङ्ग्रे बजारमा मार्केट लिडर बन्न सफल भएको छ। यस्तै होन्डा भने स्कुटर आयात गर्नेमा मुख्य ब्रान्ड हो। कम्पनीले एक्लै साढे ३५ हजार युनिट स्कुटर आयात गरेको छ।
होन्डासँग बाइक पनि भएकाले अहिले दोस्रो स्थानमा छ। उसले ८ हजार युनिटभन्दा बढी बाइक आयात गरेको छ। तर, स्कुटरको सेग्मेन्टमा भने होन्डा मार्केट लिडर छ।
यस्तै टीभीएस पनि बाइक र स्कुटर दुवै भएकाले बजारमा तेस्रो स्थानमा रहँदै बलियो देखिएको छ। यस्तै यामाहाले ३२ हजार ५२९ युनिट आयात गर्दै चौथो स्थानमा उक्लिएको छ। यामाहाले पछिल्लो समय आफ्नो बजार हिस्सा राम्रोसँग बढाउँदै लगेको देखिन्छ। अहिले यामाहाका प्रमुख कार्यकारी अधिकृत उनै हुन जसले टीभीएसलाई कुनै समय नम्बर दुईसम्म पुर्याएका थिए। दीपक अग्रवाल टीभीएसमा हुँदा यामाहाको बजार हिस्सा टप फाइभ भन्दा पनि तल थियो।
हिरो २८ हजार ६ युनिट आयात गर्दै पाँचौं र रोयल इनफिल्ड १२ हजार ७७२ युनिट आयात गर्दै छैटौं स्थानमा रहन सफल देखिन्छ।
हिरो पछिल्लो डिलरसिप परिवर्तनको चपेटामा पर्दा आफ्नो बजार हिस्सा ‘टप थ्री’बाट गुमाउँदै गएको थियो। तर अहिले भने नयाँ डिलरसिपसँग आफ्नो बजार हिस्सालाई पनि उसले बढाउँदै लगेको छ। हिरोको अहिले बिक्री हुनेमा इन्ट्री लेभल र स्कुटरहरुको हिस्सा धेरै छ।
यसैगरी, रोयल इनफिल्डको बजार हिस्सा पनि बढेको देखिन्छ। कम्पनीले ‘हाई लेभल’को बाइकहरु मात्रै बिक्री गर्दै आइरहेको छ। यसका प्राय सबै बाइकहरु ३५० सीसी क्षमता भन्दा माथिल्लो लेभलमा छन्। जसको मूल्य ४ लाख ५० हजारदेखि मात्रै सुरु हुन्छ।











