एनसीएचएलले मनायो १७औं वार्षिकोत्सव, सहयात्री बैंक तथा वित्तीय संस्था सम्मानित



बिजमाण्डू
२०८२ पुष ९ गते १३:०१ | Dec 24, 2025
एनसीएचएलले मनायो १७औं वार्षिकोत्सव, सहयात्री बैंक तथा वित्तीय संस्था सम्मानित


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ।

Tata
GBIME
Nepal Life

२०६५ सालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न संचालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न २०६८ मा सुरुवात गरे पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू संचालनमा ल्याएको जनाएको छ।

विगत १७ वर्षको यात्रामा एनसीएचएलले एनसीएचएल-इसीसी, एनएचसीएल-आइपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आइपिएस, कर्पोरेटपे, कनेक्ट आरटीजीएस, नेश्नल पेमेन्टस् इन्टरफेस, नेपालपे क्यूआर लगायतका सेवा कार्यान्वयन र संचालन गर्दै आएको जनाएको छ।

हाल कम्पनीले नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनलकार्ड स्विच र नेपालपे कार्डको कमर्सिएल रोल आउट समेत गरिरहेको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारीहरु छवी सापकोटा (हेड-पेमेन्ट सिस्टम) लाई कम्पनीप्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ।

कार्यक्रममा एनसीएचएलका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र अशोक शम्शेर जबरालाई एनसीएचएलको संचालक समितिको संस्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रुपमा रही संस्था स्थापनाको लागि पुर्‍याएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै विशेष सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरुको अनावरण पनि गरेको थियो। त्यस्तै, कार्यक्रममा सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकहरुकालागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेटपे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्ड सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टिज नेट सेटलमेन्ट पनि सार्वजनिक गरिएको थियो।

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधाअन्तर्गत एक्सिलेन्स इन डिजिटलट्रान्जेक्शनबाट सम्मानित गरेको जनएको छ। वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआरट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको हो।

त्यसैगरी, सिदार्थ बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ अवार्डबाट सम्मानित गरिएको छ। ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ अवार्डबाट ग्लोबल आईएमई बैंकलाई सम्मानित गरिएकोछ। नबिल बैंकले ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथकर्पोरेटपे’ अवार्ड प्राप्त गरेको जनाइएको छ।

नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिसाको अनलाईन पेमेन्टका लागि अन्तरराष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न खेलेको विशेष भुमिकालाई सम्मानगर्दै गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई ‘स्पेशन रिकग्निसन’ अवार्ड प्रदान गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्था एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्यका रूपमा र १०० भन्दा बढी गैर बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्।

एनसीएचएलको प्रणालीहरुबाट गतआर्थिक वर्ष एनसीएचएलले १८६ खर्ब रुपैयाँभन्दा बढीको २१ करोड १२ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको कम्पनीले जनाएको छ। भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ६७ प्रतिशतले र कारोबार रकमको आधारमा १९ प्रतिशतले वृद्धि भएको जनाइएको छ।