स्टकका गाडी पुरानो हुने भएपछि विक्रेताको अफरैअफर, बेच्न चल्दैछ ‘कट थ्रोट’ प्रतिस्पर्धा



शुक्र गिरी
२०८२ पुष ७ गते १२:४७ | Dec 22, 2025
स्टकका गाडी पुरानो हुने भएपछि विक्रेताको अफरैअफर, बेच्न चल्दैछ ‘कट थ्रोट’ प्रतिस्पर्धा

काठमाडौं। स्टकका रहेका पुराना मोडलका गाडी बेच्न विक्रेताले अफरैअफर ल्याएका छन्।

Tata
GBIME
Nepal Life

आयात गरिएका गाडी धेरै समय स्टकमा राख्नु परेपछि विक्रेताले ग्राहकलाई आकर्षित गर्न अफर ल्याएका हुन्। कतिपय कम्पनीले एक्सचेन्ज अफर त कतिपयले नगद छुट र ५ वर्षसम्मको शून्य कस्ट अफर ल्याएका छन्।

चालु आर्थिक वर्ष हालसम्म ५ हजारभन्दा धेरै इभी प्यासेन्जर कार आयात गरिएको छ। यो संख्या पोहोरको तुलनामा बढी हो। यस्तै बजेट अगाडि ल्याएका ४ हजारभन्दा धेरै गाडी पनि स्टकमै छन्।

कतिपय कम्पनीले २०२४ मा उत्पादित मोडलकै गाडी बिक्री गर्न सकेका छैनन्। केही ब्रान्डका गाडीको उत्पादन बन्द भएकाले जसरी पनि बेच्नुपर्ने बाध्यता छ।

अहिले तातोपानी भन्सार यार्डदेखि चोभारस्थित सुक्खा बन्दरगाहको यार्ड गाडीले भरिभराउ देखिन्छन्। अंग्रेजी वर्ष सकिन एक साता मात्रै बाँकी भएकाले कम्पनीहरूलाई अफर ल्याएर गाडी बेच्नुपर्ने अवस्था छ। किनभने नयाँ वर्ष लागेपछि सन् २०२५ मा बनेका गाडी पुरानो भएको मानिन्छ। ग्राहकले नयाँ वर्षमै उत्पादन भएका गाडी खोज्ने भएकाले विक्रेताहरू स्टक सक्न अफरको प्रतिस्पर्धामा लागेका हुन्।

अहिले किया, एक्सपेङ, आयोन, प्रोटोन, टाटा, बीवाइडी, हुन्डाई, डिपल, नामी, लिपमोटर, ओमोडा एण्ड जेको जस्ता ब्रान्डले एक्सचेन्ज अफरसहित नगद छुटका योजना ल्याएर ग्राहकलाई आकार्षित गरिरहेका छन्।

नाडा र नाइमा अटो शोमा पनि पुराना गाडी बिक्री गर्न धेरै नगद छुट दिइएको थियो। कतिपय ब्रान्डहरूको अफर योजनाले गाडी सोल्डआउट पनि भएको थियो। अहिले इभीमा चिनियाँ ब्रान्डले प्रतिस्पर्धा गरिरहेका छन्।

केही चिनियाँ ब्रान्डका विक्रेतासँग अझै धेरै पुराना मोडलका गाडी स्टकमा छन्। ती गाडी बेच्नुपर्ने दबाब व्यवसायीलाई छ। लामो समयसम्म स्टकमा राख्दा लागत झन् बढेर जाने भएका कारण पनि व्यवसायीसामु बेच्नुपर्ने दबाब भएको हो।त्यही कारण व्यवसायीले अफर ल्याएका हुन्।

व्यवसायीले ५ वर्षसम्मको शून्य कस्ट, एक्सचेन्जमा बोनस, बाइब्याक ग्यारेन्टी जस्ता अफर ल्याइरहेका छन्। साथै मूल्यमा भारी छुट तथा अटो प्लस बीमा, सडक कर, स्पेयर पार्ट्समा छुट, एक्सेसरिज नि:शुल्क दिने विक्रेताहरूले बताएका छन्। विभिन्न कम्पनीले स्टक गाडी बिक्री गर्न ‘कट थ्रोट’ प्रतिस्पर्धा गरिरहेका छन्। यस्ता अफर खासगरी पुराना मोडलका गाडीमा लागू गरिएको छ।

एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षत्री स्टक भएका गाडी बेच्नका लागि अफर ल्याएको बताउँछन्।

‘नयाँ वर्षलाई लक्षित गरेर फेस्टिभ अफर ल्याइएको हो। स्टकमा रहेका गाडी पनि बिक्री गर्नुपर्ने बाध्यता छ। अफरले बिक्री बढाउन सहयोग पुग्छ,’ उनले भने, ‘ग्राहक पनि अफर कुरेर बस्ने गरेका छन्।’

पुराना मोडलका गाडीको स्टक सकाउनका लागि सस्तो मूल्यमा दिनुपर्ने व्यवसायीहरू बताउँछन्।

‘सामान्य समयको भन्दा एक्स्ट्रा डिस्काउन्ट दिनुपर्छ। धेरै गाडी स्टक हुनुमा अर्डर प्लानिङ र आयातले पनि फरक परेको छ,’ क्षत्रीले भने, ‘जेनजी आन्दोलनले दसैंमा गाडी बिक्री हुन सकेन। नाकाका कारण हामीले पनि समयमै ल्याउन सकेनौं। त्यसैले गर्दा स्टक हुन पुग्यो।’

ओमोडा एण्ड जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले पुराना मोडलका गाडी धेरैनरहेको बताए।

‘हाम्रोमा त्यस्तो स्टक त छैन। तैपनि बाढी पहिरोले चिनियाँ नाका बन्द हुँदा डेलिभरी दिन समस्या भएको हो। जेनजी आन्दोलनले पनि बिक्री प्रभावित भएको थियो,’ उनले भने, ‘त्यसैले स्टकमा रहेका गाडी बिक्री गर्न नयाँ वर्षलाई लक्षित गरेरअफर ल्याउन स्वाभाविक हो।’

चांगन डिपल गाडीको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स(एमएडब्लू) वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ज्ञानेन्द्र बहादुर चन्दले गाडीको व्यापार बढाउन अफर ल्याएको बताए।

‘मार्केटमा मुभमेन्ट ल्याउन अफरको ठूलो भूमिका हुन्छ। हामीले अहिले धेरै राम्रा अफर ल्याएका छौं। जसले गाडी बिक्री गर्न सहयोग गरेको देखिन्छ। मोडल इयर अनुसार बिक्री गर्न केही च्यालेन्ज हुन्छ नै। त्यही कारण इयर इन्ड अफरका रुपमा नयाँ वर्ष योजना ल्याइएको हो,’ उनले भने।

नयाँ गाडीको मूल्य बढाउने तयारी

व्यवसायीले पुराना मोडलका गाडीको बिक्री सकेपछि नयाँको मूल्य बढाउने तयारीमा छन्। एक व्यवसायीले डलरको भाउका कारण चीनमै महँगो पर्ने भएकाले भाउ बढाउनुपर्ने अवस्था रहेको बताए। उनका अनुसार नयाँ गाडीको मूल्य एक लाख रुपैयाँसम्म बढ्न सक्छ।

‘पुरानो स्टक सकेपछि र नयाँ आउने गाडीको मूल्य बढाउने योजना छ,’ ती व्यवसायीले भने।