पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल, पाए क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी



साइराम उपरकोटी
२०८२ पुष ४ गते १५:४४ | Dec 19, 2025
पर्यटनमन्त्री सिन्हाको रोजाइमा देवचन्द्र लाल, पाए क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी
क्यानका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ नेतृत्व पाएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको एक साता नहुँदै मन्त्री अनिलकुमार सिन्हाले क्यानको नेतृत्व फेरेका हुन्।

Tata
GBIME
Nepal Life

सिन्हाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेर देवचन्द्र लाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन्। कर्ण क्यानका १२औं तहका कर्मचारी हुन्।

क्यानमा कर्णका अलावा प्रेमनाथ ठकुर र जगन्नाथ निरौला १२ औं तहका कर्मचारी हुन्। कर्ण र ठाकुर २०७८ पुस १६ गते १२ औं तहमा बढुवा भएका थिए। निरौला भने २०७९ चैत १९ गते १२औं तहमा बढुवा भएका थिए।

ठाकुरभन्दा एक वर्ष अगाडि २०७३ जेठ ३२ मा ११औं तहमा बढुवा भएको आधारमा कर्णलाई मन्त्री सिन्हाले निमित्त महानिर्देशक बनाएका हुन्। कर्णलाई महानिर्देशकले प्रयोग गर्ने सम्पूर्ण अधिकार दिइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले सहसचिव मुकेश डंगोललाई महानिर्देशकको रुपमा कामकाज गर्ने जिम्मा दिएको दुई सातामै क्यानमा नेतृत्व फेरिएको हो। डंगोलले मंसिर १९ गते जिम्मेवारी पाएका थिए। त्यतिखेर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कार्कीसँगै थियो।

कार्कीले मंसिर २६ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सिन्हालाई दिएकी थिइन्। सिन्हाले २८ गते मन्त्रालयको नेतृत्व सम्हालेका थिए।

‘सहसचिव डंगोललाई क्यानको महानिर्देशकको जिम्मेवारीमा राख्दा मन्त्रालयको काम प्रभावित भएका कारण मन्त्रीज्यूले नेतृत्व फेर्नुभएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘क्यान आफैंमा धेरै काम भएको संस्था हो। त्यस्तो संस्थाको नेतृत्व गर्न पूर्णकालीन कर्मचारी नै चाहिन्छ। मन्त्रालय र क्यान दुवैतिर एकै व्यक्तिले काम गर्न सम्भव हुँदैन। त्यसैले क्यानका वरिष्ठ कर्मचारीमध्येबाट कर्णलाई निमित्तको जिम्मेवारी दिइएको हो।’

डंगोल मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख हुन्। मन्त्री सिन्हाले निमित्त महानिर्देशकको जिम्मा दिएका कर्णले शुक्रबार नै कार्यभार सम्हालिसकेका छन्।

‘निमित्त महानिर्देशकका रुपमा कर्ण सरलाई हामीले स्वागत गरिसकेका छौं। उहाँले मन्त्रालयको पत्र बुझेर कार्यभार सम्हाल्नुभएको छ,’ क्यानका एक कर्मचारीले भने। 

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माण गर्दा भष्टाचार गरेको आरोपमा मुद्दा दायर भएसँगै महानिर्देशक प्रदीप अधिकारी मंसिर १७ गते निलम्बनमा परेपछि क्यान नेतृत्वविहीन हुन पुगेको थियो।

अधिकारीको चार वर्षे कार्यकाल माघ १८ सम्म थियो। नयाँ महानिर्देशक नियुक्त नभएसम्म कर्णले निमित्त महानिर्देशकको रुपमा काम गर्नेछन्।