ड्रोनबाट यस्तो देखिएको थियो नेपाल प्रिमियर लिगको ऐतिहासिक फाइनल



प्रवीण रानाभाट
२०८२ मंसिर २७ गते १९:४२ | Dec 13, 2025
ड्रोनबाट यस्तो देखिएको थियो नेपाल प्रिमियर लिगको ऐतिहासिक फाइनल

काठमाडौं। नेपाल प्रिमियर लिगको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने भएका थिए।

Tata
GBIME
Nepal Life

हाउसफुल दर्शकका बीच फाइलन खेल भएको थियो। यो खेलको अनलाइन टिकट बिक्री बिहीबार खुल्नेबित्तिकै केही मिनेटमै सोल्ड आउट भएका थिए। दर्शकले मैदान र वरपरका क्षेत्र भरिभराउ थियो।

टस जितेर सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले सजिलै पछ्यायो। लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर उपाधि जित्यो। कम लक्ष्यका कारण रोमाञ्चक खेलको अपेक्षा गरेका दर्शक छिटो समाप्तिले केही निराश भए। तर उपाधि जितको उत्साहले मैदान गुञ्जायमान रह्यो।

लुम्बिनीका लागि दिनेश अधिकारीले आक्रामक सुरुवात गरे। दोस्रो इनिङको पहिलो ओभरमै उनले चार छक्का प्रहार गरे। सो ओभरमा उनले २७ रन जोडे। अधिकारी र डार्सी सर्टबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भयो। पाँचौँ ओभरमा हेमन्त धामीले डार्सी सर्ट र अधिकारी दुवैको विकेट लिए।

जितका लागि दुई रन बाँकी रहँदा लुम्बिनीले दुई विकेट गुमायो। कप्तान रोहित शर्मा १६ रनमा आउट भए। सन्दीप जोरा शून्य रनमा फर्किए। निरोशन डिकवेला ११ रनमा अविजित रहे। दिलिप नाथले विजयी रन बनाए।

त्यसअघि सुदूरपश्चिम १९ दशमलव १ ओभरमा ८५ रनमै अलआउट भयो। पहिलो ओभरमै विनोद भण्डारी शून्य रनमा आउट भए। त्यसपछि विकेट पतन रोकिएन। इशान पाण्डेले एक छेउबाट संघर्ष गरे। उनले ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १३ रन जोडे। हरमीत सिंह र स्कट कुगेलेइनले १०/१० रन बनाए। अन्य ब्याटर सस्तैमा आउट भए। हेमन्त धामी ७ रनमा अविजित रहे।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिए। उनले लगातार तीन बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई आउट गरे। यो लिगको दोस्रो ह्याट्रिक हो। रुबेन ट्रम्पलमन र शेर मल्लले तीन–तीन विकेट लिए। तिलक भण्डारीले एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमाथि ड्रोनबाट खिचिएको दृश्यले ऐतिहासिक फाइनलको भव्यता देखाएको छ। ड्रोनबाट देखिएको भीड, उज्यालो मैदान र उत्सवको माहोलले नेपाल प्रिमियर लिगको फाइनललाई अविस्मरणीय बनायो।