काठमाडौं। विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले चीनकै सबैभन्दा सुरक्षित गोल्डेन शिल्ड ब्याट्री ल्याएको छ। यसलाई चांगन अटोमोबाइल र सीएटीएलले संयुक्तरुपमा विकास गरेका हुन्।
इभीमा आगो लागेको एउटै मात्र भिडियोले पनि बजारमा अविश्वास बढ्ने निष्कर्षसहित ब्याट्रीलाई सुरक्षित बनाउन रिसर्च थालेको सीएटीएलले गोल्डेन शिल्ड ब्याट्री उत्पादन गरेको हो।
सुरक्षा प्रत्याभूतिका लागि चोङ्किङ्स्थित परीक्षण केन्द्रमा गोल्डेन शिल्ड ब्याट्रीको परीक्षण गरिसकिएको छ।
चांगनको डिपलले पनि अहिले सीएटीएलले निर्माण गरेको ब्याट्री प्रयोग गर्दै आइरहेको छ। आगामी दिनमा डिपलले गोल्डेन शिल्ड ब्याट्री प्रयोग गर्नेछ।
पहिलो चरणमा ५ मिलिमिटर स्टील नेल पेनिट्रेसन गरिएको थियो। त्यसरी नेल पेनिट्रेसन गर्दा गोल्डेन शिल्डको सेलमा केही भएन। सामान्य लिथियम आयन ब्याट्रीमा यस्तो खालको नेल पेनिट्रेसन गर्दा आगो वा विस्फोट निम्त्याउने जोखिम हुन्छ।
अर्को परीक्षणमा गोल्डेन शिल्ड ब्याट्रीलाई ६० मिनेटसम्म पानीमा डुबाइएको थियो। पानीमा डुबाउँदा ब्याट्रीमा केही नभएको कम्पनीले दाबी गरेको छ।

त्यस्तै परीक्षणस्वरुप ब्याट्री प्याकलाई १४० सेकेन्ड आगोमा पनि राखिएको थियो। यो भनेको चीनले ब्याट्रीको सुरक्षाका लागि बनाएको राष्ट्रिय मापदण्डभन्दा दोब्बर हो। यस्तो परीक्षणमा पनि ब्याट्री सामान्य अवस्थामै रहेको दाबी गरिएको छ।
चीनले हालै जीबी ३८०३१-२०२५ नामक नयाँ इभी ब्याट्री सुरक्षा मापदण्ड ल्याएको छ जुन संसारकै कडा मापदण्डमध्ये पर्छ। यो मापदण्डअन्तर्गत थर्मल रनअवेको बेलामा पनि ब्याट्रीमा आगो लाग्ने वा विस्फोट हुनु हुँदैन।
गोल्डेन शिल्ड ब्याट्रीले चिनियाँ नयाँ मापदण्डका प्रारम्भिक परीक्षण सफलतापूर्वक पार गरिसकेको कम्पनीले जनाएको छ।

ब्याट्रीमा उच्च ताप प्रतिरोधी सामग्री प्रयोग गरिएको छ। यसमा प्रयोग भएको नानो फाइबर सेपरेटरले ताप सहने क्षमता २०० डिग्रीसम्म पुर्याउँछ। सिंगल क्रिस्टल मिश्रणले थर्मल स्थिरता झन्डै १२ प्रतिशत बढाउँछ। यो ब्याट्री अत्यधिक स्वचालित लाइनमा उत्पादन हुन्छ जहाँ ९५ प्रतिशतभन्दा बढी अटोमेसन हुन्छ।
गोल्डेन शिल्ड ब्याट्रीले माइनस ३० डिग्रीदेखि ६० डिग्री तापमान, उच्च कम्पन र १० लाख किलोमिटर बराबरको सडक सिमुलेसन जस्ता परीक्षण पूरा गरिसकेको कम्पनीले बताएको छ।











