रिलायन्सको पुनर्मूल्यांकनविनाको आइपीओ : लगानीकर्तालाई पहिलो कारोबारमै नोक्सानी हुने



सुनिल कुँवर
२०८२ मंसिर २२ गते ०९:२० | Dec 8, 2025
रिलायन्सको पुनर्मूल्यांकनविनाको आइपीओ : लगानीकर्तालाई पहिलो कारोबारमै नोक्सानी हुने

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्ने लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्नका लागि दोस्रो बजारमा कम्तीमा ५ कारोबार दिन कुर्नुपर्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड रुपैयाँभन्दा बढीको दायित्वलाई बेवास्ता गरी महँगो मूल्यमा आइपीओ निकाल्न अनुमति दिएका कारण लगानीकर्ताले प्राथमिक सेयरमा लगानी गरेको पैसा सुरक्षित गर्नकै लागि कम्तीमा ५ कारोबार दिन कुर्नुपर्ने देखिएको हो।

यो कम्पनीको आइपीओ किन्नेले दोस्रो बजारमा लगातार पोजेटिभ सर्किट लागेको अवस्थामा बल्ल आफ्नो लगानी फिर्ता पाउनेछन्।

रिलायन्स स्पिनिङ मिल्सले प्रति कित्ता ८२०.८० रुपैयाँका दरले सोमबारदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपीओ बिक्री गर्दैछ। कम्पनीले आइपीओ निष्कासनका लागि सेबोनमा पेस गरेको वित्तीय विवरण अनुसार २०८१ चैत मसान्तसम्म प्रति सेयर नेटवर्थ भने जम्मा १७९.४५ रुपैयाँ छ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई नेटवर्थको बढीमा तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ। यस आधारमा अधिकतम मूल्य हुँदा पनि दोस्रो बजारमा रिलायन्सको सेयरको पहिलो कारोबार प्रति कित्ता ५३८.३५ रुपैयाँमा हुनेछ।

यो मूल्य आइपीओ मूल्यभन्दा २८२.४५ रुपैयाँ कम हो। अर्थात लगातार चार वटा सर्किट लाग्दासमेत लगानीकर्तालाई नोक्सानी हुनेछ। आइपीओमा लगानी गर्नेले आफ्नो पैसा सुरक्षित गर्नका लागि लगातार ५ वटा पोजेटिभ सर्किट कुर्नुपर्नेछ।

आइपीओको मूल्यभन्दा नेटवर्थका आधारमा ओपनिङ रेन्जको अधिकतम मूल्य कम हुने रिलायन्स स्पिनिङ मिल्स पहिलो कम्पनी हुनेछ। त्यसैले नेप्सेका कर्मचारीहरूले रिलायन्स स्पिनिङ मिल्सलाई पुनर्मूल्यांकनविनै आइपीओ बेच्न दिने सेबोनको निर्णयलाई लगानीकर्ताको पैसा जोखिममा पार्ने कदम भनेका छन्।

‘दोस्रो बजारमा सेयर कारोबारका लागि नेप्सेले दिने मूल्यभन्दा आइपीओका लागि निर्धारित मूल्य बढी भएको अहिलेसम्म हामीलाई थाहा छैन। रिलायन्स स्पिनिङ मिल्सका हकमा भने ओपनिङ रेन्जको अधिकतम मूल्य नै आइपीको मूल्यभन्दा २८२.४५ रुपैयाँ कम हुने देखिएको छ,’ नेप्सेका एक अधिकृतले भने, ‘यो भनेको लगानीकर्तालाई जानाजान जोखिममा पार्ने काम हो। सेबोनले कम्पनीलाई के आधारमा महँगो मूल्यमा आइपीओ निकाल्न स्वीकृति दियो? लगानीकर्ताको हितलाई पूरै बेवास्ता गर्ने काम सेबोनबाट भएको छ।’

रिलायन्सले २०८० माघमा संस्थागत लगानीकर्तालाई प्रति कित्ता ९१२ रुपैयाँमा आइपीओ बेचेकामा अहिले सर्वसाधारणलाई त्यसको १० प्रतिशत घटाएर बिक्री गर्न लागेको हो।

कम्पनीले संस्थागत लगानीकर्तालाई आइपीओ बिक्री गर्दा डेडिकेटेड लाइन प्रयोग गरेबापत प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्व लुकाइएको थियो। जबकि कम्पनीले अहिले दायित्व स्वीकार गरेर प्राधिकरणलाई किस्ता बुझाउन थालिसकेको छ।

त्यही कारण सेबोनका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की सेबोनको नियामकीय क्षमतामाथि नै प्रश्न उठाउँछन्।

‘आइपीओ निष्कासनपछि पहिलो कारोबारका लागि जथाभावी मूल्य तोक्ने प्रवृत्ति रोक्न मैले नै नेटवर्थको तीन गुणासम्मको सीमा लगाएको थिएँ,’ उनले भने, ‘तर, सेबोनले आइपीओ स्वीकृति दिँदा लगानीकर्ताको हित हेरेको देखिएन। आइपीओमा गरेको लगानी उठ्नकै लागि ५ वटा पोजेटिभ सर्किट कुर्नुपर्ने अवस्था भनेको सेबोनले वित्तीय विवरण नै राम्रोसँग नहेरेको छर्लङ्ग हुनु हो। नियामकमा यो हदको लापर्वाही अति भयो।’

प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्वको हिसाब नगरी सेबोनले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्न रिलायन्स स्पिनिङलाई अनुमति दिएपछि तत्कालीन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८१ असार अन्तिम साता स्थगित गर्न लगाएको थियो।

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उच्च अदालत पाटनको आदेश देखाएर अहिले पुरानै वित्तीय विवरणका आधारमा आइपीओ निष्कासन गर्न अनुमति दिएका हुन्।

सन्तोषनारायणले कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन केही दिनअघि पत्र लेखिसकेका छन्।

रिलायन्सले डेडिकेटेड लाइनको दायित्व स्वीकार गरेको मात्रै होइन, पछिल्लो २ वर्षमा कम्पनीको वित्तीय विवरणमा पनि फेरबदल भएको छ। कम्पनीको नाफा घटेको छ। रिलायन्सले संस्थागत लगानीकर्तामा आइपीओ बिक्री गर्नका लागि तयार पारेको विवरण अनुसार २०७९/८० मा रिलायन्सको प्रति सेयर आम्दानी ५४.३४ रुपैयाँ थियो।

आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा प्रति सेयर आम्दानी ०.९६ रुपैयाँमा झर्‍यो। २०८१ असारसम्म आइपुग्दा प्रति सेयर आम्दानी २.९५ रुपैयाँ पुग्यो।

२०७९/८० मा खुद नाफा ९२ करोड ७८ लाख रुपैयाँ देखाएको कम्पनीको नाफा २०८१/८२ मा ४७ करोड ६३ लाख रुपैयाँमा सीमित भयो। त्यतिखेर प्राधिकरणलाई तिर्नुपर्ने दायित्व रिलायन्सले स्वीकार गरेको थिएन।

रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष व्यवसायी पवन गोल्यान हुन्। कम्पनीमा उनको २१.९५ प्रतिशत सेयर लगानी छ। यस्तै, शशीकान्त अग्रवालको ४४.९३ र पवन गोल्यानका छोरा अक्षय गोल्यानको २२.९८ प्रतिशत सेयर छ। अक्षय कम्पनीका प्रबन्ध निर्देशक हुन्।