काठमाडौं। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ जेनजी आन्दोलनका नाममा भदौ २४ गते वेयर हाउससहित आफ्ना १२ वटा स्टोर खरानी बनेपछि दुई दिन निदाउन सकेनन्। अरु ९ वटा स्टोर पनि तोडफोड भएका थिए।
तर मीनबहादुरले हिम्मत हारेनन्। उनले खरानीबाट जतिसक्दो चाँडो उठ्ने अठोट गरे। ‘मैले अहिलेसम्म जे गरें नेपालकै लागि गरें, अब पनि देशकै लागि गर्ने हो’ भन्दै मुटु दह्रो गरेर उनले तोडफोड र लुटपाट भएका स्टोर पालैपालो सञ्चालनमा ल्याए।
आगो लगाएर खरानी पारिएको बालुवाटारस्थित वेयर हाउस पहिलेकै अवस्थामा फर्काउन सजिलो थिएन। मीनबहादुरले एक हजार श्रमिक खटाए।
दसैं, तिहार र छठ पर्व नभएको भए उनी एक महिनामै वेयर हाउस तयार पार्ने योजनामा थिए। तैपनि श्रमिकले आफूले चाहेकै गतिमा काम गरे। तिनै श्रमिकको निरन्तर खटाइपछि भाटभटेनीको वेयर हाउस दुई महिनामै तयार भएको छ।
भदौ २४ गते जेनजीका नाममा भएको आगजनीमा परेका १२ संरचनामध्ये सञ्चालनमा आउन लागेको यो पहिलो युनिट हो।
वेयर हाउसले पहिलेको भन्दा नयाँ रुप पाएको छ। यसमा मीनबहादुर श्रमिकप्रति आभारी छन्। उनले बिहीबार वास्तुपूजा गरी वेयर हाउस निर्माणमा संलग्न श्रमिकलाई एक एक गरी टीका लगाएर दक्षिणा दिए। उनीहरुसँगै सेल्फी खिचे। साथै ती श्रमिकलाई खरानी भएका अरु स्टोर उठाउनका लागि खटाएका छन्।
‘नेपालमा सामान नभएकाले दुई महिना लाग्यो नत्र अझै छिटो हुने थियो,’ भाटभटेनीका प्रमुख अपरेटिङ अफिसर पानु पौडेलले भने, ‘यस अवधिमा जमिनबाट अहिलेको अवस्थामा आइपुग्यौं।’
मीनबहादुरले वेयर हाउस पहिलेको भन्दै अझ अत्याधुनिक बनाएर एग्रेसिभ हिसाबले फर्किन लागेको सन्देश दिएका छन्।

‘यो पूरै माटोमा मिसिएको थियो अहिले पूरै उठेको मात्र होइन, नयाँ टायलसहित नयाँ लुक्समा तयार भएको छ,’ पौडेलले भने।

१० रोपनी जग्गामा रहेको भाटभटेनीको बालुवाटारस्थित वेयर हाउसबाट आयात भएका सामग्री सबै आउटलेटमा पठाइने छ। आगजनीपछि वेयर हाउस खण्डहरमा परिणत भएको थियो।
स्टील संरचनादेखि अन्य कंक्रिट संरचना दुई महिनाको अन्तरालमा तयार पारेर भाटभटेनीले पहिलेभन्दा सशक्त रुपमा फर्किन लागेको संकेत गरेको छ।

भाटभटेनीको पूजाका कारण बालुवाटार क्षेत्रमा अलग्गै माहोल बनेको थियो। निजी क्षेत्रका प्रतिनिधि दिनभरि नै आउजाउ गरिरहेकाले ट्राफिक व्यवस्थापन समेत कठिन हुने अवस्थामा पुगेको थियो।

‘कम्तिमा पनि दैनिक १८ घन्टाभन्दा बढी समय उहाँहरू काममा खटिनु भएको छ,’ उनले भने, ‘यही हिसाबले जाँदा फागुनसम्म हामीले कम्तिमा दुईवटा आउटलेटलाई पूरानै अवस्थामा फर्काएर सञ्चालनमा ल्याउने छौं।’
रिटेल कारोबारमा नेपालको सबैभन्दा ठूलो आउटलेट भएकाले भदौ २४ को घटनामा भाटभटेनीमा भएको क्षतिप्रति सबै क्षेत्रले निन्दा गरेका थिए भने यसका सञ्चालक मीनबहादुरले खरानीबाट उठेर पहिलेभन्दा तीब्र गतिमा अगाडि बढ्ने उद्घोष गरेका थिए।

पौडेलका अनुसार महाराजगञ्ज र कोटेश्वरमा रहेका स्टोर फागुनभित्र पुरानै अवस्थामा सञ्चालनमा ल्याइने छ। त्यसको १५ दिनको अन्तरालमा अरू स्टोर पनि क्रमश: संचालनमा ल्याउने गरी काम भइरहेको छ।

नक्सालमा भने पुनर्निर्माण गर्नुपर्ने भएकाले केही समय लाग्ने छ। काम गर्न जोखिम नरहेका आउटलेटका संरचनामा काम भइरहेको पौडेलले जानकारी दिए।

भाटभटेनीको वेयर हाउसमा पुगेका जोकोही पनि दुई महिनाभित्रै संरचना ठडिएको देखेर आश्चर्य चकित देखिए। कारण- नेपालभित्र यति तीब्र गतिमा ठूलो संरचना यसरी खडा भएको देखिंदैन।

पौडेलका अनुसार बालुवाटारको यही संरचनाबाट सिंगो भाटभटेनी सञ्चालन हुन्छ। केन्द्रीय गोदाम भएकाले यहाँको सर्भरबाट सबैतिरको कारोबार हेरिन्छ। सयभन्दा धेरै कम्प्युटरसहितको वेयर हाउसले सबै आउटलेटको कारोबार हेर्छ।

स्टोरको वास्तुपूजामा आगन्तुकलाई हाकु पटासीमा सजिएका युवतीहरूले स्वागत गरेको दृश्य आकर्षक थियो। मुख्यद्वारमा बाजागाजासहित उनीहरूले सबै आगन्तुकको स्वागत गरेका थिए।
प्रवेशद्वारमा नै जलिरहेका भाटभटेनी र सिंहदरबारको तस्बिर राखिएको छ। भदौ २४ को दिन फेरि कहिल्यै नदोहरियोस् भन्ने संदेशसहित मीनबहादुरको फोटो पनि प्रवेशद्वारसँगै राखिएको छ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गते भाटभटेनीका १२ वटा संरचना ध्वस्त भएपछि संचालक मीनबहादुरले एकजना कर्मचारीलाई पनि नहटाउने र दसैंको पेस्की समेत दिने घोषणा गरेका थिए।
त्यसैअनुसार भाटभटेनीका कर्मचारीलाई सञ्चालनमा रहेका अन्य स्टोरमा खटाइएको थियो। त्यसबाहेक जलेका संरचना फेरि संचालनमा ल्याउनका लागि अतिरिक्त १ हजार कामदार खटाइएको थियो।

थप सुविधासहितको वेयर हाउस सुरु गरेर भाटभटेनीले जस्तोसुकै कठिन परिस्थितिमा पनि बलियोसँग ‘बाउन्स ब्याक’ हुने लक्ष्यमा अनवरत लागिरहेको सन्देश दिएको छ।













