काठमाडौं। पर्यटकीय सिजनको सुरुमा भएको जेनजी आन्दोलनको असर होटलहरुको व्यापारमा परेको छ। सेप्टेम्बरमा पर्यटकको संख्या घट्दा चालु आर्थिक वर्ष पहिलो त्रैमासमा होटलहरुको नाफा प्रभावित हुन पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटलमध्ये ५ वटाको नाफा ऋणात्मक छ भने सोल्टी होटलको नाफा खुम्चिएको छ।
सोल्टी होटलले साउनदेखि असोजसम्म १२ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम पोहोर सोही अवधिको तुलनामा ८.३२ प्रतिशत कम हो। अन्य होटलको नाफा ऋणात्मक रहँदा सिटी होटल सबैभन्दा धेरै ५ करोड ५६ लाख रुपैयाँ घाटामा छ।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले पर्यटकीय सिजनको सुरुमै भएको जेनजी आन्दाेलनका कारण आफूहरुको नाफा प्रभावित भएको बताए।
‘पर्यटकको फ्लो बढ्न थालेको बेलामा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनपछि धेरै बुकिङ क्यान्सिल भए,’ उनले भने, ‘त्यही कारण पहिलो त्रैमासमा होटलको नाफा प्रभावित भएको हो। अन्यथा हाम्रो नाफा धेरै बढ्थ्यो। तैपनि आम्दानी चाहिं घटेन। अक्टोबर लागेपछि पर्यटक बढेकाले दोस्रो त्रैमासमा ब्यालेन्स सिटमा सुधार हुने विश्वास छ।’
सेप्टेम्बर महिनामा विदेशी पर्यटकको संख्या १८.३ प्रतिशतले घटेको थियो। पोहोर सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक आएकामा यसपालि जेनजी आन्दोलनको असरले ७८ हजार ७११ जनामा सीमित भएको थियो।
जेनजी आन्दोलनपछि तारागाउँ रिजेन्सी बन्द छ भने चन्द्रागिरि हिल्स करिब २ महिनापछि कात्तिक २२ गतेबाट सञ्चालनमा आएको छ।
अक्टोबरमा भने पर्यटकको संख्या पोहोर सोही अवधिको तुलनामा केही बढेको छ। अक्टोबरमा १ लाख २८ हजार विदेशी नेपाल आएका थिए।
‘सेप्टेम्बर महिनामा कतिपय बुकिङ क्यान्सिल भएका कारण आम्दानी घट्यो,’ अर्का होटलका एक कर्मचारीले भने।
चालु आर्थिक वर्ष तीन महिनामा होटलको आम्दानी १२.३९ प्रतिशतले घटेको छ। सोल्टी होटल र कालिन्चोक दर्शनको आम्दानी बढेकामा बाँकी सबैको घटेको छ। आम्दानी सोल्टी होटलको १.२८ र कालिन्चोक दर्शनको ८१.२४ प्रतिशतले बढेको हो।
| होटल | आम्दानी (२०८२/८३ पहिलो त्रैमास) | आम्दानी (२०८२/८३ पहिलो त्रैमास) | फरक | खुद नाफा (२०८२/८३ पहिलो त्रैमास) | खुद नाफा (२०८२/८३ पहिलो त्रैमास) | नाफा (फरक) |
| सोल्टी | ६२७९४९७४१ | ६१९९८९८३८ | १.२८ | १२३५८६०३३ | १३४७९५१७७ | -८.३२ |
| तारागाउँ रिजेन्सी | २०३८२०८७६ | ३००६६६०२८ | -३२.२१ | -२३७४२८८२ | ४५६३९८४३ | – |
| ओरियन्टल | २२१९६८०५७ | २४९५४५२१३ | -११.०५ | -२९५५५७९१ | -१५७८१५४७ | – |
| चन्द्रागिरि हिल्स | ११५८३२५०६ | १६९६६४९८४ | -३१.७३ | -१२४३१७२८ | २५५२९८६७ | – |
| कालिन्चोक दर्शन | ७२८७२०८ | ४०२०६४५ | ८१.२४ | -३३८६७३० | -८५७०१६२ | – |
| सिटी | ११५५३५८८६ | १३१३३३१५७ | -१२.०३ | -५५६५२१६४ | -५६२७७८०१ | – |
| जम्मा | १२९२३९४२७४ | १४७५२१९८६५ | -१२.३९ | -११८३२६२ | १२५३३५३७७ | -१००.९४ |
होटलहरुको खर्च ३.७४ प्रतिशतले बढेको छ। पोहोर पहिलो त्रैमासमा ८ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेका होटलले यसपालि सोही अवधिमा ८ अर्ब ८५ करोड खर्च गर्नुपरेको छ।
पहिलो त्रैमासमा सोल्टी होटल बाहेक अन्य कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक छ। सोल्टी होटलको प्रति सेयर पोहोर पहिलो त्रैमासमा १.४५ रुपैयाँ रहेकामा अहिले १.२१ रुपैयामा झरेको छ।
ओरियन्टल, तारागाउँ रिजेन्सी, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटलको प्रति सेयर आम्दानी ऋणात्मक छ।
ओरियन्टल होटलको प्रति सेयर आम्दानी सबैभन्दा धेरै २.५ रुपैयाँ ऋणात्मक छ। पोहोर पहिलो त्रैमासमा होटलको यस्तो आम्दानी १.४० रुपैयाँ थियो। तीन होटलको प्रति सेयर नेटवर्थ सधुार हुँदा तीन वटाको खुम्चिएको छ।
| होटल | कुल खर्च (२०८२/८३ पहिलो त्रैमास) | कुल खर्च (२०८१/८२ पहिलो त्रैमास) | फरक | प्रति सेयर आम्दानी (२०८२/८३ पहिलो त्रैमास) | प्रति सेयर आम्दानी (२०८१/८२ पहिलो त्रैमास) | प्रति सेयर नेटवर्थ (२०८२/८३ पहिलो त्रैमास) | प्रति सेयर नेटवर्थ (२०८१/८२ पहिलो त्रैमास) |
| सोल्टी | ४८३८४९३३१ | ४४८५९६४२६ | ७.८६ | १.२१ | १.४५ | २८.३ | २६.९३ |
| ओरियन्टल | २३७४०२९१९ | २४८२२६२५२ | -४.३६ | -२.५ | -१.४ | ३२८.१६ | ३४२.१६ |
| तारागाउँ रिजेन्सी | – | – | – | -१.२१ | २.३३ | १५७.४९ | १४९.१९ |
| चन्द्रागिरि हिल्स | ७५१८८०९८ | ७०५९१३९५ | ६.५१ | -०.८१ | १३.७५ | १०६.८ | १०७.६१ |
| कालिन्चोक दर्शन | -१,८१६,६२५ | -५,७२१,९८७ | -६८.२५ | -०.५६ | -१.४३ | १०४.८२ | ९९.३२ |
| सिटी | ९१,२५१,८७८.६८ | ९२,३२१,४२३.६५ | -१.१६ | -२.०८ | -३.३६ | ८४.९३ | ९०.४९ |











