काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)ले ९ एन एकेएक्स कलसाइनको न्यारोबडी जहाजमा जडान गरिएको भाडाको इन्जिन १५ दिनभित्र फिर्ता गर्ने भएको छ।
एनएसीले भाडाको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)लाई फिर्ता गरेर आफ्नै इन्जिन जडान गर्ने भएको हो।
एनएसीका प्रवक्ता अनिल घिमिरेले भाडाको इन्जिन १५ दिनभित्र फिर्ता गरी आफ्नै इन्जिन जडान गर्ने तयारी अगाडि बढाएको जानकारी दिए।
‘हामीले लुम्बिनी जहाजमा रहेको भाडाको इन्जिन फिर्तालाई पहिलो प्राथमिकतामा राखेका छौं। भाडाको इन्जिन १५ दिनभित्र फिर्ता दिएर बनाउन दिएको इन्जिन ल्याउने तयारी अगाडि बढाएका छौं,’ उनले भने, ‘इजरायली कम्पनीलाई भाडा कसरी भुक्तानी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’
एनएसीले नाइन एन एकेएक्स कलसाइनको न्यारोबडी जहाजको आफ्नो इन्जिन बनाउन दिएर २०८० माघदेखि भाडाको इन्जिन प्रयोग गरिरहेको छ। भाडाबापत निगमले दैनिक २ हजार डलर, प्रति साइकल २३९ डलर र प्रति घण्टा २७८ डलर तिर्नुपर्छ।
एनएसीका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि कमिसनका लागि आफ्नो इन्जिन थन्क्याएर भाडाको इन्जिन प्रयोग गरेको आरोप छ। अधिकारीको कार्यकाल कात्तिक ७ गते सकिइसकेको छ। इजरायली कम्पनीले भाडाबापत ३१ लाख ३६ हजार ५१२ डलर अर्थात साढे ४४ करोड रुपैयाँभन्दा धेरै रकम पाउन बाँकी रहेको पत्र कात्तिकको सुरुमा एनएसीमा पठाएको थियो।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एनएसीका निमित्त अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतलाई बोलाएर भाडाको इन्जिन फिर्ता गरेर आफ्नो इन्जिन तत्काल ल्याउन निर्देशन दिएकी थिइन्।
‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ?,’ कार्कीले भनेकी थिइन्, ‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ। कुनै प्रक्रियागत बहाना नगरौँ। मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन।’











