ह्यचब्याक सेगमेन्टमा एटो १ को टेस्ट ड्राइभ, इन्ट्री लेभलमा जानेका लागि पहिलो विकल्प



शुक्र गिरी
२०८२ कात्तिक २८ गते ०९:१४ | Nov 14, 2025
ह्यचब्याक सेगमेन्टमा एटो १ को टेस्ट ड्राइभ, इन्ट्री लेभलमा जानेका लागि पहिलो विकल्प

काठमाडौं। तिब्बतको पठारबाट हिमालपारीको जिल्ला मुस्ताङ हुँदै भित्रिएको ‘एटो वान’ यसपाला हाम्रो टेस्ट ड्राइभका लागि छनोटमा पर्‍यो। बाढीका कारण रसुवा नाका बन्द भएपछि चीनबाट भित्रिने अधिकांश इभीहरू कालीगण्डकी करिडर हुँदै कास्की र त्यहाँबाट मुलुकका विभिन्न भागमा पुगे।

Tata
GBIME
Nepal Life

अफरोडको वास्तविक परीक्षण हुँदै आएकाले हामीले एटो वानलाई केही सहज र केही अफ्ट्यारो बाटोमा कुदाउन चाह्यौं। त्यसैले सहरी क्षेत्रका अलावा हाम्रो रोजाईमा पर्‍यो दक्षिणकाली नगरपालिकामा रहेको हात्तीवन। हात्तीवन रिसोर्ट हुँदै चम्पादेवी जाने चर्चित हाइकिङ ट्रेल पछ्याउँदै बनेको बाटो उकालो र घुम्तीका कारण रोमाञ्चक छ।

त्यहीँ यसको परीक्षण गर्ने हामीले निधो गर्‍यौं।

नेपालको इभी बजारमा मार्केट सिफ्ट गरेको चिनिया कम्पनी बीवाईडीको दोस्रो ह्याचब्याक भए पनि इन्ट्री लेभलमा जानेका लागि पहिलो विकल्प हो बीवाईडी एटो वान। डल्फिन बीवाईडीको पहिलो ह्याचब्याक हो जसले नेपाली सडकमा तगडा उपस्थिति जनाइसकेको छ।

त्यसअघि एटो थ्रीले एसयूभी सेगमेन्टमा आफूलाई गेमचेन्जरकै रुपमा स्थापित गरिसकेको थियो। ब्लेड ब्याट्रीका कारण अहिलेसम्म सबैभन्दा सुरक्षित मानिएको बीवाईडीको एटो वान पनि इभी प्लेटफर्म थ्री पोइन्ट जेरोमै तयार भएको हो। यसमा मोटर क्षमता भने तुलनात्मक रुपमा कम लाग्छ। ४५ किलोवाट क्षमताको मोटरले के उकालोमा असजिलो त बनाउँदैन?

धेरै आत्मविश्वास र थोरै संशयसहित हाम्रो टेस्ट ड्राइभ सुरु भयो थापाथलीबाट। काठमाडौंका सहरी क्षेत्रपछि हामीले काठमाडौंको दक्षिण पश्चिमको बाटो समात्यौं। हेटौंडा निस्किने वैकल्पिक मार्ग भएकाले दक्षिणकालीको बाटोमा कुनै पनि गाडीले सुमो र माइक्रोहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने नै हुन्छ। हात्तीवन रिसोर्टतिर उक्लिनुअघि नै एटो वानले ती गाडीसँग रफ्तारमा प्रतिस्पर्धा गर्‍यो। यसखाले ड्राइभमा कम क्षमताको मोटर भएको कतै पनि अनुभव भोग्न परेन। भञ्ज्याङ पार गरेपछि भने संशयमाथि परीक्षण हुँदै थियो। 

मूल सडकलाई बायाँ छाडेर साँघुरो उकालोतिर हाम्रो ड्राइभ सुरु भयो। सुरुमै ढुंगा बिछ्याइएको ट्र्याक। केही माथि पुगेपछि त गाडीको पाङ्रा अडिने भागमा ढुंगा बाँकी रातोमाटोले भरिएको ट्र्याक। ढुंगा नहुँदो हो त यो ट्र्याकमा पानी पर्दा अडिन सक्ने अवस्था नै नरहने। बीचमा माटो भए पनि दुईतिर ढुंगा बिछ्याएकाले असहज भएन।

तर, उकालोमा एकपछि अर्को घुम्ती आउनु र गाडीमा फुल लोड हुनुले जुन किसिमको संशय थियो, त्यसलाई भने चिर्‍यो। कतै पनि कुनै पनि समस्याविना गाडीले रफ्तार लियो। १७० एमएम ग्राउन्ड क्लयरेन्स भए पनि कतै पनि हामीले असहज महसुस गर्न परेन। त्यसबाहेक सडकको केही हिस्सा असहजखाले नै थियो गाढेको ढुंगा खुस्किएकाले।

गाडीको ग्राउन्ड क्लियरेन्स कम हुँदा पनि चलाउने शैली ठीक छ भने समस्या आउँदैन। अन्तत: हाम्रो संकोचलाई सजिलै जित्यो गाडीको पर्फर्मेन्सले।

हामीले टेस्ट ड्राइभ गरिरहेको बीवाईडीको एटो वानको यो उपल्लो भर्सनको गाडी हो। यसमा ३८.८८ किलोवाट आवर(युनिट) क्षमताको ब्लेड ब्याट्री छ। एकपटक पूरा चार्ज गर्ने हो भने यसले ३ सय किलोमिटर भन्दा बढीको दुरी पार गर्न सक्छ।

यद्यपि, गाडीको ड्राइभिङ शैलीले कति दुरी तय हुने भन्ने निर्धारण हुन्छ। इभीमा हात बसेका जो कसैले पनि यसबाट २८० भन्दा माथिको दुरी तय गर्छ भन्ने हाम्रो टेस्ट ड्राइभको ठम्याइ रह्यो। यसको कम क्षमताको ब्याट्री ३०.०८ किलोवाट आवर (युनिट) भएको गाडीले पनि २३० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।

बीवाईडीका अन्य गाडीमा रहेका अधिकांश फिचर यसमा पनि उपलब्ध छ। तर, केही फिचर छैनन् जसले फरक अनुभूति चाहिँ गराउँछ। विशेषगरी सुरुमा हाइ इन्ड गाडी ल्याएको बीवाइडीले यसमा सेफ्टीको एडास फिचर राखेको रहनेछ। त्यसबाहेक अधिकांश फिचरमा कम्पनीले सम्झौता गरेको देखिएन।

ह्याचब्याक सेगमेन्टमा इन्ट्री लेभलका रुपमा यस गाडीमा जे जस्ता फिचर छन् ती पेट्रोल भर्सनका ह्याचब्याकसँग तुलना गर्ने हो भने निक्कै अब्बल लाग्छ। यही सेगमेन्टका अधिकांश इभीमा ह्यान्ड ब्रेक हुने गर्छ तर यसमा त्यसको झन्झट बेहोर्न पर्दैन। सुरक्षाका लागि अन्य फिचरहरू यसमा ती गाडीमा भन्दा बढी नै पाइन्छ।

इन्ट्री लेभलको ह्याचब्याक भनेपछि मूल्य त स्वभाविक चासोको विषय भइहाल्यो। हामीले टेस्ट ड्राइभ गरिरहेको यो कारको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ हो भने इन्ट्री लेभलको मूल्य २८ लाख ९५ हजार रुपैयाँ छ। यी दुवैमा अन्तर भने ब्याट्रीमा मात्र हो अन्यथा सबै फिचर उस्तै हो, मोटर क्षमता सहित। मोटर क्षमता त हामीले परख गरिहाल्यौं र त्यसले सन्तुष्टि पनि दियो।

त्यसबाहेक यसको लुक्स र डिजाइनमा विशेष ख्याल गरेको पायौं। हामीले जुन गाडी ड्राइभ गरेका थियौं त्यसको कलर वा आकारले पनि हुनुपर्छ सडकमा धेरैको ध्यान खिचिरहेको पायौं। सानो र साँघुरा सडकमा बीवाईडीको यो कार पर्फेक्ट पाइयो।

गाडीमा कम्पनीले १० वर्ष वारेन्टी दिइएको छ जसले गाडी किन्न चाहनेका लागि आत्मविश्वास भरिदिन्छ। कतिपय इभीमा पिकअप लिँदा ह्वात्तै स्पिड लिने पाइए पनि यसमा महँगो मोडलका कारमा जस्तो छ त्यही हिसाबले रफ्तार लिने रहेछ।  

कुनै बेला महेन्द्राको इटूओ जस्ता सिटी कारले जुन स्थान बनाएको थियो त्यसभन्दा माथिल्लो वर्गमा नै यसलाई लिन सकिन्छ। चलाउँदाको कम्फर्ट र लेग स्पेस लगायतलाई मूल्यांकन गर्ने हो भने पनि यो कार हुन्डाई, सुजुकी लगायतका इन्ट्री लेभलका कारभन्दा स्तरीय पाइयो। त्यसमाथि अपरेसनल कस्ट ह्वात्तै कम हुने हुँदा यो बजारको बलियो विकल्प हुने देखिन्छ। साथै यही मूल्यमा आधारित बजारमा उपलब्ध अन्य मोडलका कारका लागि यो बलियो प्रतिस्पर्धी स्वभाविक हुने नै भयो।

समग्ररुपमा, हाम्रो टेस्ट ड्राइभले जो कोही इन्ट्री लेभलमा गाडीको यात्रा चाहन्छ उसका लागि यो बलियो विकल्पका रुपमा आएको पायौं भने बजारमा स्थापित ब्रान्डहरूका लागि चुनौती।