काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताको आन्दोलनपछि गलहत्याएर निकालिएका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलाई सञ्चालक समिति अध्यक्ष सुलभ अग्रवालले बीमितको कोषबाट ठूलो रकम अवैधानिक रुपमा भुक्तानीका लागि दबाब दिएका छन्।
सञ्चालक समितिबाट निर्णय गराएर सुलभले गलहत्याइएका प्रमुख कार्यकारी कर्णलाई सवा दुई करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन खोजेका छन्। कर्मचारीहरुले अवैधानिक रुपमा दिन भनिएको भुक्तानी गर्न नसकिने भन्दै आनाकानी गरिरहेका छन्।
सञ्चालक समितका अध्यक्ष सुलभ अग्रवालले कानुनविपरीत हुने गरी निर्देशन दिएकाले कर्मचारीले कर्णलाई भुक्तानी गर्न मानेका छैनन्।
कर्ण कम्पनीमा ४ वर्षका लागि नियुक्त भएका थिए। तर, उनले कम्पनीका लागि भन्दा पनि व्यक्तिगत फाइदा र सुलभ अग्रवालसहित दीपक भट्टको लाभका लागि विभिन्न कामहरु गर्दै आएका थिए। कम्पनीलाई चरम नोक्सानीमा पुर्याउने र व्यक्तिगत लाभका लागि मात्रै काम गरेपछि अभिकर्ताहरु आन्दोलित भएका थिए।
अभिकर्ताको आन्दोलनले काम गर्न नसक्ने भएपछि उनले गत असोज २६ गते राजीनामा गरेका थिए। कार्यकाल बाँकी छँदै राजीनामा गरेको भन्दै बाँकी कार्यकालको पारिश्रमिकलगायत सवारीसाधन उपलब्ध गराउन सञ्चालक समितिले निर्णय गरेको हो।
‘कर्णले राजीनामा गर्दा गोल्डेन हेण्डसेक वा अन्य सुवधासमेत उपलब्ध गराइदिन अनुरोध गरेको सन्दर्भमा छलफल गर्दा निजले कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा रही गरेको कार्यको योगदानस्वरुप बाँकी पैसा भुक्तानी गर्ने निर्णय गरिएको छ,’ सञ्चालक समितिको निर्णयमा भनिएको छ।
कर्णलाई २०८० वैशाख २६ गते कम्पनीमा ४ वर्ष अवधिका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो। उनले २०८२ असोज २६ सम्म सेवारत रही हिमालयनमा ८८७ दिन बिताएका थिए। बाँकी कार्यकालको ५७३ दिन अवधि बाँकी रहेको भन्दै उनको मासिक तलब सुविधा १२ लाख रुपैयाँका आधारमा कुल २ करोड २६ लाख रुपैयाँ भुक्तानी दिन निर्णय गरिएको हो।
यसबाहेक उनले चढिरहेको प्रोटोन फुल अप्सन गाडी पनि कर्णको नाममा नामसारी गरिदिने निर्णय गरेको छ। यता बीमा प्राधिकरणले भने गैरकानुनी रुपमा कुनै पनि भुक्तानी दिन नमिल्ने जनाएको छ।
‘करारमा रहेको प्रमुख कार्यकारीले राजीनामा दिएपछि उसले पाउने भनेको त्यतिन्जेल पाकेको सुविधा मात्र हो,’ बीमा प्राधिकरणका एक सुपरिवेक्षकले भने, ‘त्यो भन्दा बढी भुक्तानी गरिएको रहेछ भने त्यो फिर्ता गर्नुपर्छ। सञ्चालक समितिमाथि पनि कारवाही हुन्छ।’
पेसागत बीमा अभिकर्ता संघ नेपालले हिमालयन लाइफभित्रको बेथिति अन्त्यको माग गर्दै कार्यालयमा धर्ना दिएपछि कर्णले राजीनामा दिएका थिए। कर्णले श्रीमतीको नाममा रहेको ब्रोकर कम्पनीमार्फत दीपक-सुलभको हितमा काम गर्दै आएका थिए। उनी हिमालयन लाइफको प्रमुख कार्यकारी हुँदा १० बजेदेखि साढे ३ बजेसम्म भृकुटी ब्रोकरेजमा नै हुन्थे।










