पासपोर्ट अभाव हुने देखिएपछि प्रधानमन्त्री कार्कीले जर्मनीका राजदूतसँग मागिन् सहयोग

बिजमाण्डू
२०८२ कात्तिक १३ गते १७:२५ | Oct 30, 2025
पासपोर्ट अभाव हुने देखिएपछि प्रधानमन्त्री कार्कीले जर्मनीका राजदूतसँग मागिन् सहयोग


काठमाडौं। सरकारले सम्झौताको मिति अगावैदेखि पासपोर्ट उपलब्ध गराउनका लागि पहल गरिदिन जर्मनीसँग आग्रह गरेको छ।

Vigo
GBIME
Tata

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार आफूसँग शिष्टाचार भेट गरेका जर्मनीका राजदूत उडो भोल्जसामु पासपोर्ट आपूर्तिमा सहयोग गर्न आग्रह गरेकी हुन्।

राहदानी विभागले ६४ लाख थान पासपोर्ट आपूर्ति गर्ने जिम्मा दुई वटा जर्मन कम्पनीलाई दिएको छ। म्युहलबौयर आइडी सर्भिस जीएमबीएचले पहिलो प्याकेजका लागि १ अर्ब ५५ करोड रुपैयाँ र भेरिडोस जीएमबीएचले दोस्रो प्याकेजका लागि ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा ठेक्का पाएका हुन्।

ठेक्का सम्झौता अनुसार जर्मन कम्पनीले मार्च ९ देखि मात्र पासपोर्ट आपूर्ति गर्नेछ। तर विभागसम्म त्यो समयसम्मका लागि पुग्ने मौज्दात छैन। सामान्य अवस्थामा दैनिक ३ हजार पासपोर्ट वितरण हुने भएकाले अहिलेको मौज्दातले अब एक महिना मात्र पुग्ने विभागका अधिकारीले बताउँदै आएका छन्।

प्रधानमन्त्री कार्कीले सम्झौतामा भएको मिति अगावैदेखि पासपोर्ट उपलब्ध गराउनका लागि जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास राजदूतसामु प्रकट गरेकी छन्।

जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी चाँडो उपलब्ध गराउन सक्दो पहल गर्ने बताएको कार्कीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्की र राजदूतबीचको भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत उपस्थित थिए।