काठमाडौं। एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति आगामी कात्तिक १५ देखि लागू हुनेछ।
यससँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकामा निरन्तरता दिनेछन्।
फोलेलाई दुई दशकभन्दा बढी समयको दूरसञ्चार क्षेत्रमा नेतृत्वको अनुभव छ। उनले विभिन्न प्रमुख कम्पनीहरूमा प्रभावशाली नेतृत्वका रुपमा सफलता प्राप्त गरेका छन्।
एनसेलमा आवद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाको प्रमुखको रूपमा काम गरेका थिए। त्यहाँ उनले ७ वटा फ्राड्रोफोन अफ्रिकी बजारहरूको संचालनको जिम्मेवारी लिएका थिए।
यसअघि, फोलेले टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रूपमा काम गर्दै कठिन परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाएका थिए। उनको नेतृत्वमा टेलिनोर पाकिस्तानले बजारमा अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नतामा उल्लेखनीय सफलता हासिल गरेको थियो।
फोलेले बंगलादेशको ग्रामीणफोन र बुल्गेरियाको टेलिनोरमा पनि सीईओको पदमा काम गरेका छन्। यी संस्थाहरूमा उनले ग्राहक संख्या ७ करोडभन्दा बढी पुर्याउनुका साथै ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरे।
त्यसका अतिरिक्त, उनले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन्। हाल, उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन्।
फोलेले आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको बताए। एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार भएको भन्दै उनले नेपाली जनताका लागि यसले नयाँ अवसरहरू सृजना गरेको बताए।
‘डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ,’ उनले भने, ‘आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं।’
एनसेलको सञ्चालक समितिले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै उनलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी भएको बताएको छ।
‘उहाँको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन्,’ सञ्चालक समितिले भनेको छ।
फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्। उनी क्यानडा र केन्या दुवै देशका नागरिक हुन्।










