डिपलको ‘एस ओ फाइभ’को टेस्ट ड्राइभ अनुभव : सुविधा यथावत, सुरक्षामा उत्तिकै खर्च 



शुक्र गिरी
२०८२ असोज २४ गते १२:०१ | Oct 10, 2025
डिपलको ‘एस ओ फाइभ’को टेस्ट ड्राइभ अनुभव : सुविधा यथावत, सुरक्षामा उत्तिकै खर्च 

नेपालको उच्च मध्यम वर्गमा लग्जरी ब्रान्डका रुपमा डिपलले एउटा प्रभाव छाड्यो- सुविधा, प्रविधि र डिजाइनका आधारमा। कुनै पनि गाडीको तुलना फिचरसँगै त्यसको मूल्यसँग जोडिने गर्छ नै। डिपलका एस ओ सेभेन र एल ओ सेभेनमा ती सबै गुण थिए जुन लग्जरी सेगमेन्ट खोज्नेले रोज्ने गर्छन्। विद्युतीय सेगमेन्टतर्फ मूल्यमा तुलना गर्दा रोजाइमा रहँदारहँदै पनि कतिले किन्न सकिरहेका हुँदेनन्। त्यसलाई सम्बोधन गरेको छ चाङ्गान मोटर्सले डिपल एस ओ फाइभ मार्फत्।

Tata
GBIME
Nepal Life

यसपालाको टेस्ट ड्राइभमा हामी तुलनात्मक रुपमा कम मूल्यको यही कार लिएर आएका छौं। आउनुस् यसमा सवारी गरौं।

लुक्स मात्र होइन, डिपलका अरु सेगमेन्टमा जस्तै पनि पनि वेलकम सिट छ जसले सुरुमै हामीलाई प्रिमियम अनुभूति गराइहाल्यो। इन्टेरियरमा कुनै कन्जुस्याङ देखिएन यसको। अघिल्ला दुईवटा कारको हामीले टेस्ट ड्राइभ गरिसकेकाले यसमा केही कमी हुनसक्ने आँकलन गरेका थियौं। कारभित्र पस्नासाथ हाम्रो सोच गलत सावित भयो। इन्टेरियर र फिचर दुवैमा अधिकांश कम्पोनेन्ट चाहिँ एस ओ सेभेन र एल ओ सेभेनजस्तै रहेछन्।

‘लेग सपोर्ट’ सहितको भेन्टिलेटेड सिट भएकाले सेगमेन्टमै फरक अनुभूति हुने रहेछ। ड्राइभ गर्नेले आफू अनुकूल तय गरेको सिट त्यही अवस्थामा रहने मेमोरी फङ्सन यसमा पनि रहेछ। फ्रेमेलस डोर र फ्लस ह्यान्डल अन्य सेगमेन्टमा जस्तै यसमा पनि उपलब्ध रहेछ।   

यो कारलाई लिएर हामी अन र अफ रोड दुवैतिर लाग्यौं। थापाथलीबाट सुरु भएको हाम्रो टेस्ट ड्राइभ ललितपुरको भैसेपाटी, छम्पी हुँदै कान्ति राजपथतिर हुइँकियो। राजधानीलाई हेटौंडा जोड्ने वैकल्पिक राजमार्गका रुपमा रहेको कान्ति राजपथ पहिरोका कारण ठाउँठाउँमा अफरोडमा रुपान्तरण भइसकेको छ। त्यसैले हामीले यो रुटमा एस ओ फाइभलाई कुदाउने तय गर्‍यौं। सहरी क्षेत्रको ड्राइभमाथि कुनै प्रश्न रहेन।

डिपलको प्रविधिले हामीलाई अलि धेरै नै प्रभावित बनाएको छ जुन यसमा पनि कायम रह्यो। त्यो स्वभाविक पनि किन रह्यो भने चाङ्गान मोटर्सले रिसर्च एन्ड डेभलोपमेन्टमा पर्याप्त लगानी गरेको छ – ३१ देशका १८ हजार इन्जिनियरलाई जोडेर। कम्पनीले ५० लाखवटा रोड टेस्टिङ गरेको रहेछ आफ्ना उत्पादनलाई अब्बल बनाउका लागि। त्यसको असर यसको लुक्स र पर्फर्मेन्समा देखिनु स्वभाविक हो।   

छम्पी कटेर अघि बढ्दा सडक हामीले पहिले यात्रा गरेको अवस्थामा थिएन। डोजर चलिरहेको थियो बाटो मिलाउँदै। भर्खर फिँजाइएको ग्राबेलको बाटोबाट अगाडि बढ्ने कि फर्केर अर्को रुट लिने हामी एकैछिन अलमलियौं। एउटा मिनी ट्रक अगाडि लागेपछि त्यसले बनाएकै लेनबाट क्रस गर्न सकिने आँकलन गरेर हामी अघि बढ्यो। ट्रकको लेनसँग यसको लेन मिल्नसक्ने थिएन। पहिलो असहज टेस्ट यहीँ भयो। अफरोडमा यसले सहज यात्रा गराउँछ भन्ने पुष्टि पनि।

त्यसपछि हामी उकालिने क्रम सुरु भयो भट्टेडाँडातिर। सडक कतै सग्लो त कतै आधामात्रै। धेरै कालोपत्रे भए पनि ठाउँठाउँमा बिग्रेको। त्यसैले चुस्त ड्राइभिङ स्किल चाहिने। त्यसलाई यसको १७५ एमएम ग्राउन्ड क्लियरेन्सले साथ दियो। लेग स्पेस सहित आरामदायी यात्राका लागि यो फराकिलोमात्र छैन लगेज पनि ४९० लिटर उपलब्ध रहेछ। यसमा गोल्डन सिल्ड ब्याट्री छ जसलाई १५० किलोवाट क्षमताको फास्ट चार्जरबाट १५ मिनेटमा नै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

सिएटिएल प्रविधि भएकाले ५ हजार साइकल चार्ज लाइफ रहेको कम्पनीको दाबी छ जुन नेपालमा उपलब्ध इभीमध्ये सबैभन्दा धेरै हो। यो भनेको ५ हजारपटक चार्ज गर्दासम्म ब्याट्रीले काम गर्छ भन्ने हो। यो गाडी एकपटक फूल चार्ज गर्दा ४०० किलोमिटरभन्दा बढी दुरी तय हुने भएकाले यसको ब्याट्री आयु कति लामो छ सजिलै बुझ्न सकिन्छ। यसमा ५६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री छ।   

उकालो र अफरोडमा कुनै व्यावधान बिना यात्रा गर्न सकिएको यस कारमा ९९ किलोवाट क्षमताको क्षमताको मोटर रहेछ। पर्फर्मेन्स बलियो बनाउन यसको डिजाइनमा विशेषगरी एयरडायनामिक्सलाई ख्याल गरिएको छ। सुरक्षाका लागि पर्याप्त सेन्सर तथा अन्य फिचरहरू यसमा समावेश छ। जस्तो कि रिभर्समा जाँदा लुकिङ मिरर फ्लेग्जिबल हुने र चलाउन सहजिकरण गर्ने सुविधा यसमा पनि छ। इन्फोटेनमेन्ट र इन्स्ट्रिमिन्ट क्लस्टरमा पनि प्रश्न गर्ने ठाउँ भेटिएन।

नेपालमा मोरङ अटो वर्क्स वृद्धिले डिपलका गाडीहरू बिक्री गर्दै आएको छ। प्रविधिमा टक्कर र मूल्यमा प्रतिस्पर्धाका कारण डिपल एस ओ फाइभ एसयूभी सेगमेन्टतर्फ बलियो खेलाडीका रुपमा उत्रिएको छ। सहरी क्षेत्रमा त कुनै प्रश्न छैन, अफरोडमा पनि यसले बलियो पर्फर्मेन्स दियो। कम्पनीले यसको मूल्य प्लस भेरियन्टको ४९ लाख ९९ हजार र म्याक्स भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नेपाली सडकमा प्रतिस्पर्धाका लागि उत्रिएको यो गाडीले बीवाडी एटो थ्रीसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। 

समग्रमा, हाइइन्ड फिचर र लुक्स भएको गाडीको चाहना तर केही कम बजेटमा खोज्नेका लागि यो गाडी बलियो विकल्प रहेको हाम्रो टेस्ट ड्राइभले ठम्याएको छ। हवाइ उड्ययनको प्रविधिलाई कारमा जोडेर चिनिया कम्पनीहरूले गरेको प्रयोगको एउटा अर्को सफल उत्पादन बनेको छ यो कार। पावर पर्फर्मेन्सका हिसाबले पनि यसलाई नेपाली सडकमा बलियो प्रतिस्पर्धीका रुपमा लिन सकिन्छ।