काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले स्मार्ट लाइसेन्सको कार्ड, प्रिन्टिङ मेसिन र सिस्टम नै जलाइदिए। प्रदर्शनकारीले ६ लाख इम्बोस्ड नम्बर प्लेट पनि जलाएर नष्ट गरेका छन्। जसकारण अहिले यातायात व्यवस्था विभाग शून्य अवस्थामा पुगेको छ।
विभाग र यस अन्तर्गतका कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाट हुँदा त्यसको प्रत्यक्ष असर सेवाग्राहीलाई नै परेको छ। लाइसेन्स, नम्बर प्लेट लगायत सेवाहरु कहिले सुरु हुने टुंगो छैन।
अहिले ट्रायल पास भएर स्मार्ट लाइसेन्स लिन कुरिरहेका लगभग २६ लाख चालक छन्। धेरैको लाइसेन्स बनिसकेको थियो भने केहीको बन्ने अवस्थामा थियो। भएका लाइसेन्स र प्रणली नै धवस्त बनाइँदा लाइसेन्स कार्ड दिन विभागसँग अब कुनैपनि संयन्त्र छैन।
विभागका महानिर्देशक राजिव पोखरेलका अनुसार लाइसेन्स प्रिन्ट गर्ने मेसिनसँगै कार्ड र त्यससँग सम्बन्धित सिस्टम सबै खरानी भएका छन्। अहिले निजी क्षेत्रसँग मिलेर काम गर्न सकिन्छ भनेर विभागले कुराकानी थालेको छ।
‘मेसिन पनि जलेको छ। कसरी छाप्ने भन्ने कुरामा हामीले नीजि क्षेत्रलाई अनुरोध गरेका थियौं। त्यसपछि केही कुरा आएको छैनन्,’ उनले भने।
जेनजी आन्दोलनले यातायात विभाग ध्वस्त भएपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन(नाइमा) को टोलीले विभागका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेको थियो।
सम्बन्धित समाचार : सडकका ७ प्रतिशत ठेक्का रुग्ण, विभागको प्रतिवेदन भन्छ- कर्मचारी र निर्माण व्यवसायी दुवै दोषी
छलफलका क्रममा व्यवसायीहरुलाई विभागका महानिर्देशक राजिव पोखरेल र मन्त्री कुलमानले सहयोग गर्न आग्रह गरेका थिए।
ट्रायल पास भएका २६ लाख चालक अहिले स्मार्ट लाइसेन्स कुरेर बसेका छन्। लाखौं लाइसेन्स खरानी बन्दा र धेरै हराउँदा उनीहरुलाई कसरी लाइसेन्स दिने भन्नेमा चिन्ता पनि विभागलाई छ।
‘तपाईंहरु मेसिन दिएर हामीलाई सहयोग गर्नुस। हामी लाइसेन्स छाप्छौं,’ कुलमानले व्यवसायीहरुलाई आग्रह गरेका थिए।
यस्तै एनआरएनको टोलीले पनि सरोकारवाल निकायलाई भेटर सहयोग गर्ने आश्वासन दिएको थियो। एनआरएनका पूर्व अध्यक्ष शेष घलेले स्मार्ट लाइसेन्स प्रिन्ट गर्न मेसिन दिने तयारी गरेका छन्।
गत जेठमा नै विभागका महानिर्देशक पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने गरि सम्झौता भएको थियो। तर त्यसको तयारी पर्याप्त रुपमा हुन नसक्दा अहिलेसम्म पनि त्यसलाई अगाडि बढाउन सकिएको थिएन।











