दसैंमा नयाँ गाडी पर्खेका ग्राहकलाई व्यवसायीले गर्न थाले डेलिभरी, दुई नाकाबाट धमाधम भित्र्याउँदै



शुक्र गिरी
२०८२ असोज १० गते १७:३९ | Sep 26, 2025
दसैंमा नयाँ गाडी पर्खेका ग्राहकलाई व्यवसायीले गर्न थाले डेलिभरी, दुई नाकाबाट धमाधम भित्र्याउँदै

काठमाडौं। अटो व्यवसायीहरुले नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुकिङ गरेका ग्राहकलाई डेलिभरी गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

चीनसँगका दुई वटा नाका भर्खरै सञ्चालनमा आएका कारण व्यवसायीले दसैं सुरु भएपछि बल्ल गाडी डेलिभरी गर्न थालेका हुन्। दुई वटा अटो शोमा भएको बुकिङले निक्कै हौसिएका व्यवसायीले यसपटक गाडी डेलिभरी दिन भने निक्कै सकस झेल्नुपरेको छ।

तातोपानी नाका दुई महिनापछि असोज ६ गतेबाट खुलेका कारण तथा कोरला नाका भदौ ३० बाट सञ्चालनमा ल्याइएका कारण व्यवसायीले गाडी डेलिभरी गर्न पाएका हुन्।

कोरोला नाका हुँदै मगाएका गाडी र तातोपानी नाकातर्फ रोकिएका गाडि धमाधम काठमाडौं आउन थालेपछि डेलिभरी गर्न थालेको व्यवसायीहरुले बताएका छन्। ढिलै भए पनि गाडी डेलिभरी गर्न पाएकामा व्यवसायीहरु उत्साहित छन्।

‘तातोपानी र कोरला नाकाबाट गाडी आउन थालेका कारण ग्राहकलाई डेलिभरी गर्न पाएका छौं। गाडी धेरै संख्यामा आइनसके पनि ग्राहकको अर्जेन्सीको आधारमा डेलिभरी भइरहेको छ,’ एक अटो व्यवसायीले भने।

व्यवसायीले दसैंमा डेलिभरीका लागि गाडी भदौमै मगाएका थिए। तर, कोदारीको पहिरो पन्छाउन भएको ढिलाइका कारण गाडी चीनतर्फ रोकिन पुगेका थिए।

रसुवा नाका बाढीले पुल बगाएपछि असार २३ देखि बन्द रहेकामा तातोपानी नाका पनि सञ्चालनमा आउन नसकेपछि सरकारले विकल्पका रुपमा भदौ ३० देखि कोरला नाका सञ्चालनमा ल्याएको छ। कतिपय व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याइरहेका छन्।

व्यवसायीले कोरला नाकाबाट ४०० भन्दा धेरै गाडी छुटाएका छन्। बीवाइडीको एटो-२, एटो-१, ओमोडा एण्ड जेकोको जे-५, जे-६ र लिपमोटर छुटाइएका हुन्। तीमध्ये कतिपय गाडी काठमाडौं आएर ग्राहकले पाइसकेका छन् भने कतिपय बाटोमा छन्।

व्यवसायीले यसअघिका दसैंमा ग्राहकलाई घटस्थापनाअघि देखि नै गाडी डेलिभरी गर्ने गरेकामा यसपालि भने आयात प्रभावित हुँदा केही दिन ढिलाइ भएको हो।

व्यवसायीले गत साउनको अन्तिममा भएको नाइमा मोबिलिटी एक्स्पो र भदौको सुरुमा भएको नाडा अटो शोमा दसैंमा डेलिभरी गर्ने गरी गाडीको बुकिङ लिएका थिए। खासगरी चीनबाट गाडी ल्याउने बिक्रेताहरुलाई नाकामा समस्याका कारण डेलिभरीमा समस्या भएको हो।

‘तातोपानी नाकाबाट मगाएका सबै गाडी आइसकेका छैनन्। कोरला नाका हुँदै भित्रिएका गाडी पनि काठमाडौं आउन समय लागिरहेको छ। गाडी थोरै संख्यामा आए पनि हामीले ग्राहकको आवश्यकता हेरेर डेलिभरी गरिरहेका छौं,’ अर्का अटो व्यवसायीले भने।

अटो व्यवसायीले दसैं तिहारलाई गाडी बिक्री हुने मुख्य सिजन मान्छन्। यो बेला वर्षभरी हुने बिक्रीको ४० देखि ५० प्रतिशत व्यापार हुन्छ। व्यवसायीले अटो दसैं तिहारलाई लक्षित गरी विभिन्न अफर समेत ल्याउने गरेका छन्।

अटो शोमा बीवाइडी, लिपमोटर, नामी र डिपल जस्ता ब्रान्डले धेरै बुकिङ लिएका थिए। ती ब्रान्डका गाडी बिक्रेतालाई ग्राहकलाई होल्ड गर्न सकस परिरहेको छ।

बुकिङ गरेका केही ग्राहक नाकाको समस्याका कारण आयात प्रभावित भएको भन्दै पर्खेर बसेका छन् भने कतिपय ग्राहकले दसैंमा गाडी नभइ नहुने भन्दै अन्य विकल्प खोज्न थालेका छन्।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका बिक्री प्रबन्धक आशुतोष गौतमले बुकिङ गरेका ग्राहकलाई बाटोका कारण गाडी डेलिभरी गर्न समस्या परेको बताए।

‘हामीले बुकिङ अनुसार नै गाडी मगाएका थियौं। तर चीनसँगका मुख्य दुई नाका बन्दले गाडी आउन सकेनन्। अहिले तातोपानी र कोरलाबाट आउन थालेका छन्। कोरला नाका हुँदै मगाएका गाडी काठमाडौं ल्याइपुर्‍याउन पनि त्यति सहज छैन। बाटो अप्ठेरो खालको भएकाले समय लागिरहेको छ। बुकिङ लिएको संख्यामा आइनपुगेका कारण डेलिभरीमा समस्या छ,’ उनले भने, ‘हामीले सबैलाई दसैं अगाडि नै गाडी डेलिभरी दिने योजनामा अर्डर गरेका थियौं। बाटोका कारण समस्या हुँदा ग्राहकलाई होल्ड गर्न समेत गाह्रो भइरहेको छ।’

ओमोडा एण्ड जेको गाडी बिक्री गर्ने शारडा ग्रुपको पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले चीनबाट गाडी ल्याउन भएको सकसले बुकिङ गरेका ग्राहकलाई मनाएर राख्न धेरै समस्या परेको बताए।

‘गाडी ल्याउनका लागि चीन र नेपालको सिमानामा यताउता गर्दैमा दुई महिना बित्यो। कहिले यताको नाका, कहिले उताको काम खुल्छ कि भनेर बस्नुको अर्को विकल्प भएन। गाडी ल्याउन समस्याले हामीलाई ग्राहकलाई सम्हालेर राख्न नै धेरै मुस्किल भयो,’ चन्दले भने।

पायोनियर मोटोकर्पले अहिले केही गाडी कोरला नाका हुँदै ल्याइरहेको छ। ओमोडा एण्ड जेकोका जे-६ र जे-५ गरी २०० गाडी कोरलाबाट ल्याइँदैछ। ‘गाडी ल्याउन बाटो सोचेजस्तो सहज छैन,’ उनले भने, ‘केही काठमाडौं आइपुगेकाले हामीले डेलिभरी सुरु गरेका छौं,’ चन्दले भने।

चीनमा उत्पादन भएका गाडीको डेलिभरी बुकिङ अनुसार हुन नसके पनि अरु गाडीका हकमा भने समस्या छैन। टाटा, डिपल एस०५, महिन्द्रा, हुन्डाई, सुजुकी जस्ता ब्रान्डका बिक्रेताले आफूहरुलाई गाडी डेलिभरीमा कुनै समस्या नरहेको बताएका छन्। बजेट अगाडि ल्याइएका कारण डिपल एस०७ र एमजी एस५ अझै स्टकमा छन्।