काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीको टेण्डर स्थगित गरेको छ।
करिब साढे ५ अर्ब रुपैयाँको कनभर्जेन्ट रियल टाइम बिलिङ र कस्टमर सपोर्ट प्रणालीको आपूर्ति, डेलिभरी, स्थापनाका लागि वैशाख २४ गतेसम्म तोकिएको आवेदन प्रक्रिया विशेष परिस्थितिका कारण स्थगित गरिएको टेलिकमले जनाएको छ।
नयाँ मिति, समय र स्थानको जानकारी चाँडै नै आधिकारिक सूचनामार्फत सबै बोलपत्रदातालाई जानकारी गराइने टेलिकमले स्पष्ट पारेको छ।
टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न २०८० चैतमा अगाडि बढाएको प्रक्रिया विवादित भएपछि २०८१ चैतमा पुन: ठेक्का आह्वान गरेको थियो। २०८० को टेण्डरमा चार पटक म्याद थप गरिएकामा २०८१ असोज २२ गते रद्द गरिएको थियो।
उक्त टेण्डरमा चार वर्षअघिको डलरको भाउ राखेर टेन्डर निकालिएपछि विवाद भएको थियो। जसका कारण भेन्डरहरू प्रस्ताव हाल्नै हच्किएका थिए। चार पटकसम्म ठेक्काको म्याद थप्दा अमेरिकी कम्पनी सीएसजीले मात्रै प्रस्ताव हालेको थियो।










