काठमाडौं। नेपालकै निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले स्थापना भएको २० वर्ष पूरा गरेको छ। विभिन्न आरोह अवरोहबीच एनसेलले नेपालमा गुणस्तरीय मोबाइल सेवा दिने प्रयास गरिरहेको जनाएको छ।
सन् २००४ सेप्टेम्बर १७ मा ‘मेरो मोबाइल’ नामबाट दर्ता भएर २००५ देखि सेवा संचालन गर्दा नेपालमा ६ प्रतिशत मानिससँग मात्र मोबाइल थियो। अहिले देशभर एनसेलको १ करोड ४० लाख ग्राहकलाई सेवा दिँदै आएको छ।
सन् २००८ मा मेरो मोबाइललाई टेलिया कम्पनीले खरिद गरेको थियो। सन् २०१० मा मेरो मोबाइल एनसेलका रुपमा रिब्रान्डन्ड भएको थियो।
सन् २०१६ मा एनसेल आजियाता ग्रप बर्हाडको हिस्सा बन्यो। त्यसपछि कम्पनीको नाम सन् २०२० अगस्त ३ मा एनसेल आजियाता भयो।
सन् २०२३ डिसेम्बर १ मा बेलायतस्थित स्पेक्ट्रलाइट युके लिमिटेडले आजियाता ग्रुप बर्हाडको आजियाता युकेबाट रेनोल्ड होल्डिङ्स लिमिटेडको सम्पूर्ण सेयर खरिद गर्दै एनसेलको करिब ८० प्रतिशत स्वामित्व प्राप्त गरेको थियो।
एनसेलले सन् २०१० मा थ्री जी सेवा र २०१७ मा फोर जी सेवा प्रारम्भ गर्दै उपभोक्तालाई उच्चगतिको मोबाइल इन्टरनेट पहुँच दिलाएको थियो। हाल कम्पनीले नेपालको ९५ प्रतिशतभन्दा बढी भूभागमा ४जी पहुँच विस्तार गरिसकेको छ।
एनसेलले विगत २ दशकमा नेपालको ई-कमर्स, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ सेवा वा सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याएको जनाएको छ।

‘देशको अर्थतन्त्रका ठूला योगदानकर्तामध्ये एकका रूपमा, एनसेलले नेपालको विकासमा दिएको योगदानको उत्कृष्ट इतिहास कायम गरेको छ र देशको हितका लागि दिगो व्यवसाय निर्माण गर्न निरन्तर लागिरहनेछ,’ एनसेलले भनेको छ।
२०२४/२५ मा एनसेलले कर तथा शुल्कमार्फत सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ। कम्पनीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीबाट करिब १ लाख नेपाली लाभान्वित भएको जनाइएको छ।
एनसेलले अहिले ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स् (जीएसएम), एज, थ्रीजी/एचएसपीए प्लस र डीसी-एचएसडीपीए प्रविधिमार्फत सेवा दिइरहेको छ। १४ वर्षअघि थ्रीजी प्रविधि लन्च गरेको एनसेलले सात वर्षअघि फोरजी ल्याएको थियो। जसले नेपालको मोबाइल इन्टरनेटको रुपरेखा नै फेरिदिएको थियो।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनसेलले स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। हालसम्म २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रकम सामाजिक उत्तरदायित्व कार्यक्रममा खर्च भइरहेको कम्पनीले जनाएको छ।
६० वटा सामुदायिक विद्यालयमा उच्च प्रविधियुक्त डिजिटल आईटी ल्याब स्थापना भएको र टेलिमेडिसिन सेवासँगै रिङरोड ग्रीन बेल्ट परियोजनामा पनि कम्पनीले भूमिका खेल्दै आएको छ।

कोभिड-१९ महामारीका समयमा सरकार र उपभोक्तालाई सघाएको योगदानका कारण एनसेललाई वर्ल्ड कम्युनिकेसन्स अपार्ड २०२१ बाट सम्मानित पनि गरिएको थियो।
एनसेलले आगामी दिनमा समेत नवप्रवर्तन, लगानी र आधुनिक सेवामार्फत नेपालका सबै नागरिकलाई जोड्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिने जनाएको छ।










