काठमाडौं । जेन जीको प्रदर्शन भइरहेको नयाँ बानेश्वर क्षेत्र आसपास मोबाइल नेटवर्कमा समस्या देखिएको छ।
नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा समस्या देखिएर फोन नलाग्ने भएको छ। फोन लाग्न समस्या हुने र लागे पनि राम्रोसँग नबुझिने समस्या देखिएको छ।
टेलिकम कम्पनीहरूले टावरको क्षमताभन्दा बानेश्वर आसपास ठूलो भीड रहेकाले समस्या देखिएको बताएका छन्।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बानेश्वर आसपासको क्षेत्रमा रहेका टावरको क्षमताभन्दा बढी कनेक्सन हुँदा समस्या देखिएको हुन सक्ने बताए।
उनले भने, ‘त्यस क्षेत्रमा अहिले ठूलो भीड छ। फेरि आन्दोलनमा केही समस्या देखिएपछि सबैले एकैपटक फोन डायल गरिरहनु भएको होला। यसले समस्या देखिएको हुन सक्छ।’
यसबारे प्राविधिक टिमले थप बुझ्ने पनि उनले बताए।
अहिले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रशासनले काठमाडौंको विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ।










